७६ जिल्लामा फैलियाे डेंगु


 


काठमाडौँ । देशका ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फैलिएको छ । पछिल्लो तथ्याङ्क अनुसार देशभर ७६ जिल्लामा ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको छ । जसमध्ये ६ जनाको मृत्यु भएको छ ।

यो तथ्याङ्क गत माघ दोस्रो साता यताको रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण पाइएको हो ।

सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन स्थानीय वातावरणमा लामखुट्टेले नै डेंगु सारेको वा अन्य स्थानबाट सङ्क्रमण भित्रिएको भन्ने पहिचान हुन आवश्यक रहेको बताउँछन् ।

ईडीसीडीका प्रमुख डा.यदुचन्द्र घिमिरेले देशका ७६ जिल्लामा देखिएको डेंगु सङ्क्रमण स्थानीय वातावरणमै भएको वा अन्य क्षेत्रबाट आएको भनेर यकिन गर्न नसक्ने बताए ।

जलवायु परिवर्तनसँगै लामखुट्टेले आफूलाई सोही अनुसार अनुकूल बनाइसकेका कारण डेंगु सङ्क्रमण बढ्दै गएको विज्ञ बताउँछन् । तर यसको वैज्ञानिक ढङ्गबाट अनुसन्धान भने हुन सकेको छैन । नेपालमा बाह्रै महिना डेंगु सङ्क्रमण देखिन थालेको छ । तर मनसुनमा डेंगुको प्रकोप धेरै बढ्ने गरेको पाइएको छ ।

सरकारी तथ्याङ्क अनुसार वर्षभर नै डेंगुको जोखिम रहन्छ । जसमध्ये मनसुनमा यसको जोखिम बढेको पाइएको छ । वर्षातको समयमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने उच्च जोखिम रहने ईडीसीडी अन्तर्गत कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गोकर्ण दाहालले बताए ।

ईडीसीडीका अनुसार अगस्ट ५ मा २ हजार ३६५ जनामा डेंगु सङ्क्रमण भएको थियो । यो अवधिमा एक जनाको मृत्यु हुनका साथै ७३ जिल्लामा डेंगु फैलिएको थियो । हुम्ला, मुगु, मनाङ लगायत उच्च पहाडी क्षेत्रमा डेंगु सङ्क्रमण त्यतिबेला देखिएको थिएन ।

यस्तै, अगस्ट १९ मा डेंगु सङ्क्रमितको सङ्ख्या ४ हजार ९७ पुगेको ईडीसीडीको तथ्याङ्क छ । अगस्ट १९ सम्ममा २ जनाको मृत्यु डेंगु सङ्क्रमणका कारण भएको थियो । यस्तै, यो समयावधिसम्म ७४ जिल्लामा डेंगु फैलिएको थियो ।

यसैगरी, सेप्टेम्बर ९ सम्ममा ८ हजार १५९ जनामा डेंगु सङ्क्रमण फैलिएको थियो । यो अवधिसम्म ५ जनाको मृत्यु भएको थियो । यसबेला ७५ जनामा डेंगु फैलिएको ईडीसीडीको तथ्याङ्क छ ।

यस्तै, पछिल्लो तथ्याङ्क (सेप्टेम्बर १३)मा ९ हजार ४८६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ । पछिल्लो पटक ७६ जिल्लामा डेंगु फैलिएको छ ।

प्रकाशित मिति: १ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्