लुम्बिनीमा निजामती सेवा ऐन संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेस


 


बुटवल । लुम्बिनी प्रदेशसभामा प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेस भएको छ । प्रदेशसभाको चौथो अधिवेशनको ३४ औँ बैठकमा प्रदेश मामिला तथा कानुन समितिका सभापति दिल कुमारी बुढाले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेस गरेकी हुन् ।

आज पाँच बजे बस्ने ३५औँ बैठकमा संशोधन विधेयक पारित गर्ने तयारी छ ।

बैठकमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन २०८०/०८१ सभामा पेस गरेका छन् । सभाले यो प्रतिवेदनलाई अध्ययनका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाएको सभामुख तुलाराम घर्ती मगरले सभासमक्ष जानकारी दिए ।

बैठकमा स्वास्थ्यमन्त्री खेमबहादुर सारू र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री सिता शर्मा चौधरीले अघिल्ला बैठकमा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिएका छन् ।

प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्