युक्रेन समर्थक अभियन्ता थिए ट्रम्पको हत्या प्रयास गर्ने व्यक्ति


 


वासिङ्टन डीसी । आइतबार अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास भयो । यसका आरोपी युक्रेन समर्थक अभियन्ता भएको खुलासा भएको छ ।

सीबीएस लगायत अमेरिकी सञ्चारमाध्यमले छापेको समाचारअनुसार सन्दिग्ध ५८ वर्षका र्यान वेस्ले रुथ हुन् । रुससँगको युक्रेनी युद्धमा विदेशी लडाकुलाई भर्ती गराउन उनले प्रयास गरेका थिए । उनी किभ पनि गइसकेका छन् ।

आइतबार फ्लोरिडास्थित ट्रम्प इन्टरनेशनल गल्फकोर्समा ट्रम्पले गल्फ खेलिरहेको समयमा उनलाई मार्ने प्रयास भएको थियो । झाडीबाट गल्फकोर्सतिर एके–४७ शैलीको बन्दुक तेर्स्याइरहेको देखेपछि सेक्रेट सर्भिसका एजेन्टहरूले गोली हानेका थिए ।

त्यसपछि सन्दिग्ध कारमा भागेका थिए । तर ३८ माइल पर उनी समातिए । यस घटनामा ट्रम्पलाई कुनै चोटपटक भने लागेन ।
ट्रम्पमाथि यस अघि पनि आक्रमणको प्रयास भएको थियो । दुई महिनाअघि पेन्सिल्भेनियाको एउटा र्यालीमा उनीमाथि गोली प्रहार भएको थियो ।

तर यस घटनामा एउटा गोली ट्रम्पको कानमा मात्रै छुस्स छोएर गयो । उनलाई ठुलो चोट लागेको थिएन ।

प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्