मुख्यमन्त्रीकै गाउँको सडक बेहाल, विद्यार्थी आन्दोलित


 


सुर्खेत । वीरेन्द्रनगरको गणेशचोक–भैरवस्थान–प्रदेश अस्पताल हुँदै ढोडेखाली जोड्ने सडक मुख्य सडक (रत्न राजमार्ग) सबैभन्दा बढी व्यस्त हुने सडक हो ।

त्यसो हुनुका पछाडि प्रदेश अस्पताल बिचमा रहनु र भीआईपीहरूको ओहोर–दोहोर भइरहनु हो । अस्पताल जाने मुख्य सडक भएकाले यो क्षेत्रमा धेरैजसो अटो रिक्सा चल्छन् । तर, राजधानीभित्रकै व्यस्त सडकको अवस्था भने बेहाल छ ।

पुरानो कालोपत्रे उप्किएर जताततै खाल्टाखुल्टी छन् भने त्यस्ता ठाउँमा घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य हुन्छ । जसका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै पैदल यात्रुलाई समेत समस्या हुने गरेको छ । यही क्षेत्र वरपर विद्यालय छन् ।

अटो चालक रितु सापकोटा सडकको अवस्थाले हैरान छिन् । उनले भनिन्, ‘कमाउनका लागि यात्रा गर्नैपर्ने बाध्यता हुन्छ । तर यति असजिलो भएको छ कि भनेर साध्य छैन ।’

उनका अनुसार खाल्टाखुल्टीका कारण अटोका टायर चाँडै जीर्ण हुने, अन्य मेसिनरी सामान टिकाउ नहुने गर्दछन् । ‘मुख्यमन्त्रीकै घर नजिकैको सडक भएर पनि यस्तो अवस्था छ,’ उनले भनिन्, ‘यो बाटोले निकै तनाव दिन्छ, अब मेयर र मुख्यमन्त्रीको फोटो जोडेर सडकको विषयमा प्रचार गर्नुपर्ने सोचेको छु ।’

नेता बनाउन जनता नभइ नहुने तर, मुख्य र निकै आवश्यक क्षेत्रको बाटो नै बेहाल अवस्था हुँदा पनि सम्बन्धित निकायले मर्मतका लागि ध्यान नदिएको उनको गुनासो छ । साँघुरो र जीर्ण सडकका कारण पैदल हिँड्ने विद्यार्थी पनि सास्ती खेपिरहेका छन् । धुलो र हिलोले ड्रेस (स्कुल पोसाक) दिनदिनै मैलो हुने गरेको भन्दै आइतबार विद्यार्थीले आन्दोलन गरे ।

वीरेन्द्रनगर नगरपालिका–४, स्थित भैरव माध्यमिक विद्यालय र जननमुना माध्यामिक विद्यालयका विद्यार्थीहरूले भैरवस्थान स्कुलको गेट नजिकै धर्ना दिए । विद्यार्थीहरूले आइतबार दिनभर चक्काजाम गरेर सडक सुधारको माग गरे ।

भैरवस्थान मुख्यमन्त्री यामलाल कँडेलको घर भएको क्षेत्र हो । यस्तै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालको घर पनि यहीँ छ ।

जननमुना माविका विद्यार्थी नारायण नेपालले दुई वर्षदेखि सडकको अवस्था उस्तै हुँदा सोही ठाउँबाट चुनाव लडेर मुख्यमन्त्री बनेका कँडेल र नगरप्रमुख मोहनमाया ढकालले कुनै चासो नदिएको बताए ।

‘सडक सुधारका लागि सरकारी तवरबाट कुनै चासो नदिएपछि आन्दोलन गर्न बाध्य भएका हौँ,’ उनले भने, ‘राजधानीभित्रकै व्यस्त सडकको त अवस्था यस्तो छ, यहाँका दुर्गम ठाउँको अवस्था कस्तो होला ?’

यो सडक अन्तर्गत पर्ने रातो पुल निकै जोखिमपूर्ण छ । पुलमाथि नै खाल्टाखुल्टी छन् । धेरै भार हुने सवारी साधन चल्दा पुल भत्किने जोखिम छ । यही सडकमा धेरैजसो भीआईपीसमेत ओहोर–दोहोर गर्छन् तर, सडक तथा पुलको पुनर्निर्माणबारे कसैले पनि ध्यान दिएको देखिन्न ।

सडक सुधारका लागि मुख्यमन्त्री कँडेल र नगरप्रमुख ढकालले आएर लिखित सहमति गर्नुपर्ने माग गरेका आन्दोलित विद्यार्थीले माग पूरा नभए कडा संघर्षका कार्यक्रममा उत्रिने चेतावनी दिएका छन् ।

आन्दोलन स्थलबाटै विद्यार्थीहरूले नगरप्रमुख ढकाललाई फोन गरेर बाटो सुधारबारे जानकारी गराएका थिए । उनीहरूले लिखित सहमतिका लागि सम्बन्धित क्षेत्रमै आउन नगर प्रमुख ढकाललाई आग्रह गरे ।

नगरप्रमुख ढकालले आफू एक कार्यक्रमका लागि काठमाडौँ भएकाले उपस्थित हुन नसक्ने बताइन् । यद्यपि सडक सुधारमा केही ढिलाइ भएको भने उनले स्वीकार गरिन् । ढकालले अब तत्कालै सडक मर्मत गर्ने योजना रहेको पनि जानकारी गराइन् ।

वीरेन्द्रनगर नगरपालिका–४, का वडाध्यक्ष शेरबहादुर केसी वडासँग उक्त सडक बनाउन सकिने बजेट नरहेको बताउँछन् । अहिले प्रदेश सरकारबाट नालाको सुधारका लागि जम्मा दुई करोडको बजेट राखिए पनि स्तरोन्नति र मर्मतका लागि बजेट नरहेको उनको भनाइ छ ।

प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्