टेस्लाको ई–ट्रकमा लाग्यो आगो


 


क्यालिफोर्निया । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाको सेमी–इलेक्ट्रिक ट्रकमा आगो लागेको छ । सोमा लागेको आगो निभाउन ५० हजार ग्यालन (१ लाख ९० हजार लिटर) भन्दा धेरै पानी खर्च गर्नु परेको थियो । यो घटना गएको महिना घटेको अमेरिकाको राष्ट्रिय परिवहन सुरक्षा बोर्ड (एनटीएसबी)ले बताएको छ ।

घटना गएको महिना क्यालिफोनिर्याको इन्टरस्टेट ८० मा ताहो तालको पश्चिममा घटेको हो । मोडमा ट्रक एउटा रुखसँग ठोक्किएर भिरालो ठाउँबाट खसेको थियो । तर यस घटनामा चालकलाई धेरै चोट लागेन । गाडीमा लागेको आगो निभाउन अग्नि नियन्त्रककर्मीहरूले पानी बाहेक विमानबाट आगो निभाउने पदार्थहरू पनि फ्याकेका थिए ।

ट्रकमा आगो लागेको समयमा यसमा जडित ब्याट्री १ हजार फरेनहाइटसम्म तातिएको थियो । यो घटनाका कारण सो राजमार्ग १५ घण्टासम्म बन्द रहेको थियो । आगो लागेको सेमी ट्रकको डिजाइन सन् २०१७ मा टेस्लाका सीईओ एलन मस्कले सार्वजनिक गरेका थिए । त्यतिबेला उनले सन् २०२० देखि ट्रक बजारमा आउने भनेका थिए । तर अहिलेसम्म पनि व्यापक स्तरमा ट्रक बन्न सुरु भएको छैन ।

प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्