सुरक्षा निकाय सरकारको भरोसाको केन्द्र हो : गृहमन्त्री लेखक


 


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ऊर्जाशील र थप व्यावसायिक बनाउन प्रयत्नशील रहेको बताएका छन् ।

Tata
Folliderm
आइतबार बिहान राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा बोल्दै गृहमन्त्री लेखकले सुरक्षा निकायलाई समय अनुकूल थप सुदृढ तथा सबल बनाउन विद्यमान ऐन, कानुन परिमार्जन गर्न विधेयकको काम अघि बढेको बताएका हुन् ।

Shivam Cement
नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्माणका लागि विधेयक अघि बढाइएको जानकारी दिँदै गृहमन्त्री लेखकले राज्य र जनताको सेवा तथा सुरक्षाका निम्ति सीमा सुरक्षा, मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापन, राजश्व चुहावट नियन्त्रण लगायतका क्षेत्रमा पुर्‍याएको योगदानका कारण सरकारको भरोसाको केन्द्रका रूपमा सुरक्षा निकाय रहेको बताए ।

राज्यको आन्तरिक व्यवस्थामा सशस्त्र प्रहरी बलले पुर्‍याउँदै आएको योगदानका कारण यो सङ्गठन अब्बल सुरक्षा निकायका रूपमा स्थापित भएको लेखकको भनाई थियो ।

उनले भने, ‘स्थापनाकालदेखि नै अत्यन्तै कुशलतापूर्वक आफ्नो जिम्मेवारी पुरा गरी राष्ट्रिय सुरक्षामा गर्विलो उपस्थिति कायम सशस्त्र प्रहरी सङ्गठनले गरेको छ । जिम्मेवारी सम्पादन गर्ने सिलसिलामा प्रदर्शन गरेको उच्च कार्यक्षमताका कारण नागरिकको अभिन्न सहयोगी सङ्गठन बनेको छ ।’

परिवर्तित राजनैतिक, सामाजिक, आर्थिक तथा सुरक्षा वातावरण अनुसार मुलुकमा शान्ति सुरक्षा कायम राख्ने कार्य अत्यन्त जटिल एवं चुनौतीपूर्ण रहेको बताउँदै लेखकले त्यसका लागि राज्यले व्यावसायिक तथा दक्ष जनशक्तिसहितको सुरक्षा निकायहरूको प्रबन्ध गरेको धारणा राखे ।

सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई पेसागत रूपमा दक्ष एवं क्षमतावान् बनाई राज्यप्रदत्त जिम्मेवारी त्रुटिरहित ढंगबाट सम्पादन गर्न सक्ने बनाउन विभिन्न किसिमका आधारभूत तथा उन्नत तालिमहरू सञ्चालन गरिरहेको बताए ।

‘यस्ता तालिमहरूका लागि आवश्यक पूर्वाधार व्यवस्थापन तथा क्षमता अभिवृद्धिका लागि सरकारले पूर्ण साथ एवं सहयोग रहेको र यसको निरन्तरता हुनेमा समेत आश्वस्त पार्न चाहन्छु । सशस्त्र प्रहरी बलको नेतृत्व र सम्पूर्ण सशस्त्र प्रहरी राष्ट्रसेवकहरू आफ्नो व्यक्तिगत स्वार्थलाई थाती राखेर शान्ति सुरक्षाका क्षेत्रमा नवीन योजना लागू गर्दै अघि बढिरहेको महसुस छ,’उनको भनाइ छ ।

उनले देशको विकासको पूर्व सर्त भनेकै शान्ति सुरक्षा कायम हुनु हो भन्दै सबै सुरक्षा निकाय तथा आम नागरिकहरुसंगको सहकार्य र समन्वयबाट मात्रै शान्ति सुव्यवस्था कायम गर्ने कार्य सम्भव रहनेमा जोड दिए ।

साथै दीक्षित सशस्त्र प्रहरी सहायक निरीक्षकहरुलाई अनुशासित, मेहनती एवं लगनशील भएर राष्ट्रसेवामा समर्पित हुन निर्देशन दिए

प्रकाशित मिति: ३० भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्