सभामुखको कक्षबाट निस्केपछि माओवादी सांसदहरू जुटे छलफलमा


 


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसदहरूको अनौपचारिक छलफल सुरु भएकाे छ । उनीहरू बिच आजको संसद् बैठक सञ्चालनमा अवरोध गर्ने नगर्ने भन्ने विषयमा छलफल भएकाे बताइएको छ ।

केही बेरअघि सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा सभामुख लगायत सत्तारूढ दलले बैठक सञ्चालनको वातावरण बनाइदिन अनुरोध गरेका थिए । बैठकमा सहभागी प्रमुख सचेतक हितराज पाण्डेले पार्टीमा छलफल पश्चात् निर्णय दिने जानकारी दिएर बैठकबाट निस्केका थिए । सोही कारण अहिले अनौपचारिक संवाद भइरहेको हो ।

भदौ १२ को प्रतिनिधिसभा बैठकमा नेकपा एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसा भनेका थिए । उक्त शब्दमा माओवादीले नियमापत्ति गरेको थियो । सभामुखले उक्त शब्द रेकर्डबाट हटाउने नहटाउने भन्ने निर्णय गर्ने अधिकार सचिवालयलाई दिएका थिए ।

केही दिनअघि बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले उक्त शब्द असंसदीय नभएको र रेकर्डबाट नहटाउने भन्दै रुलिङ गरेका थिए । सोही विषयमा माओवादीले शुक्रवार दलको बैठक बसेर प्रतिकार गर्ने र सदन चल्न नदिने निर्णय गरेको थियो । उक्त निर्णय सच्याउनुपर्ने अडान माओवादीको छ ।

प्रकाशित मिति: ३० भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्