जापानिज इन्सेफ्लाइटिसबाट १४ जनाको मृत्यु


 


काठमाडौं, भदौ ३० । यस वर्ष जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ ।

६१ जनामा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण पुष्टि भएकोमा १४ जनाको मृत्यु भएको हो ।

यसपाली गतवर्षको भन्दा सङ्क्रमण घटेको भए पनि ज्यान गुमाउने दर उच्च देखिएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए । उनका अनुसार अघिल्लो वर्ष एक सय सात जनामा सङ्क्रमण पुष्टि भएकोमा सात जनाको ज्यान गएको थियो ।

नेपालमा भदौको मध्यदेखि असोजको मध्यसम्मलाई जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम भएको समय मानिन्छ । जापानिज इन्सेफलाइटिस भाइरस क्युलेक्स लामखुट्टेले सार्छ । यो रोग सार्ने लामखुट्टेहरू बिहान र बेलुका सक्रिय हुन्छन् ।

सङ्क्रमित चराचुरुङ्गी र सुँगुरलाई टोक्ने लामखुट्टे शुरूमा आफू सङ्क्रमित हुन्छ र त्यसले टोक्दा मानिसमा सङ्क्रमण सर्छ ।

उच्च ज्वरो आउनु, मुर्छा पर्नु, घाँटी अररो हुनु, बोल्न नसक्ने अवस्थामा पुग्नु, शरीर अनियन्त्रित भएर कामिरहनु, मांसपेशी कमजोर हुनु वा पक्षाघात हुनु यो रोगका लक्षण हुन् ।

सरकारले सन् २०१६ देखि नै १२ महिना उमेरका बालबालिकालाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप निःशुल्क लगाउने गरेको छ । आफ्ना बालबालिकालाई नछुटाई खोप लगाउन स्वास्थ्य सेवा विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति: ३० भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्