नेपाल प्रिमियर लिग मार्की खेलाडीको लक्की ड्र आज हुँदै


 


काठमाडौं, भदौ २९ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) मार्की खेलाडीको लक्की ड्र आज (शनिबार) हुँदैछ ।

एनपीएलमा सहभागी आठ फ्रेन्चाईजी पोखरा, काठमाडौँ, जनकपुर, लुम्बिनी, चितवन, सुदूरपश्चिम, विराटनगर र कर्णालीले आठ मार्की खेलाडीलाई लक्की ड्रबाट आफ्नो टिममा सामेल गराउने क्यानले जनाएको छ ।

शुक्रबार क्यानले राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, करण केसी, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कुशल मल्ललाई एनपीएलको मार्की खेलाडी घोषणा गर्दै सार्वजनिक गरेको थियो ।

क्यानले आज अपराह्न १ बजे लक्की ड्र कार्यक्रम मार्फत मार्की खेलाडी कुन फ्रेन्चाइजीबाट खेल्छन् भन्ने टुंगो लगाउने जनाएको छ । ‘लक्की ड्र’ बाट आएका पहिलो खेलाडी काठमाडौँले पाउनेछ ।

त्यस्तै, दोस्रोदेखि आठौँ नम्बरमा पोखरा, चितवन, विराटनगर, लुम्बिनी, जनकपुर, कर्णाली र सुदूरपश्चिमको पालो आउनेछ । एउटा मार्की खेलाडीले तीन वर्ष खेल्नुपर्ने हुन्छ ।

मार्की खेलाडीलाई राख्न पाउने र रिलिज गर्ने अधिकार फ्रेन्चाइज टिमको हुनेछ र यसका लागि उसले क्यानसँग समन्यवय गर्नुपर्नेछ ।

प्रकाशित मिति: २९ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्