२०८१ भित्रै सडक बालबालिका मुक्त देश बनाउँछौं : प्रधानमन्त्री


 


काठमाडौं, भदौ २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन् ।

६०औं बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताए ।

‘कतिपय बालिबालिका अहिले पनि सडक बालबालिकाका रुपमा रहनुपर्ने बाध्यताबाट पिल्सिएका छन्,’ उनले भनेका छन्, ‘यस अवस्थाबाट मुक्त गर्नका लागि हामीले २०८१ भित्रै बालबालिकालाई सडकमा बस्नुपर्ने परिस्थितिबाट मुक्त गर्ने अठोट गरेका छौं ।’

प्रधानमन्त्री ओलीले बालबालिकाका लागि प्रतिकूल अवस्था हटाएर अनुकूल अवस्था सिर्जना गर्न बालमैत्री वातावरण बनाउन सरकार लागिपरेको पनि बताए ।

उनले ठूलो सङ्ख्यामा बालबालिकाहरु कुपोषणको सिकार भइरहेको र विद्यालय जानबाट वञ्चित रहेको भन्दै यस अवस्थाबाट बालबालिकालाई बाहिर निकाल्नुपर्नेमा जोड दिए । गरिबीको रेखामुनि रहेका मानिसलाई रोजगारी उपलब्ध गराउन सरकार लागिपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: २९ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्