लागूऔषध बिक्रीको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ


 


पाेखरा, २७ भदौ। कास्की प्रहरीले बिहीबार लागूऔषध कारोबार गरेको अभियोगमा पूर्व सांसदसमेत रहनुभएका मेडिकल व्यवसायी डा. ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ । 

श्रेष्ठ पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीका सञ्चालक हुनुहुन्छ । कास्की जिल्ला अदालतबाट अनुमति लिई डा. श्रेष्ठलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो । 

गएको साउन ३ गते पोखरा २, बाग्लुङ बसपार्कमा पक्राउ पर्नुभएका रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ७ स्थायी घर भई पोखरा ४ नालामुख बस्ने वर्ष ४२ का प्रकाश थापामगरले दिया फार्मेसीबाट लागूऔषध किनेको बयान दिनुभएको छ । थापामगर ९७ ट्याब्लेट टुपेनसहित पक्राउ पर्नुभएको थियो । 

२०७९ को आमनिर्वाचनपछि डा श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बन्नुभएको थियो । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग घूस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले डा. श्रेष्ठलाई सांसदबाट हटाएको थियो । 

प्रकाशित मिति: २७ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्