भियतनाममा हुने सौन्दर्य प्रतियोगितामा नेपालगन्जका दुईजना सहभागी हुँदै


 


नेपालगन्ज, २७ भदौ। आगामी  असोज १३ गतेदेखि १७ गतेसम्म भियतनाममा हुन गइरहेको किंग एण्ड क्वीन इन्टरनेशनल सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै नेपालगन्जबाट दुई प्रतियोगी भियतनाम प्रस्थान गरेका छन्।

जेठ महिनामा नेपालगन्जमा आयोजना भएको प्रतियोगिताबाट किंग तर्फ नेपालगन्ज ८ ब्रह्मकुमारी टोलका २१ वर्षीय अर्मान मनिहार र क्वीन तर्फ नेपालगन्ज १२ बेलासपुरकी १५ वर्षीया सोहाना चन्द छनोट हुनुभएको थियो।

 १८ वटा देशको सहभागिता रहने उक्त सौन्दर्य प्रतियोगितामा शीर्ष ३ स्थानमा नेपालले बाजी मार्ने कुरामा आफू विश्वस्त रहेको नेपालका फ्रन्चाईजी मेजीस्टीक ग्रुपका कन्ट्री डाइरेक्टर मन्जेस गिरीले बताउनुभयो।  बाल बालिका तथा युवा युवतीका लागि प्रतिभा प्रस्फुटन गर्नका लागि यस्ता प्रतियोगितामा भाग लिन पाउनु र नेपालको प्रतिनिधित्व गर्न पाउनु गर्वको कुरा रहेको २१ वर्षीय अर्मान मनिहारले बताउनुभयो।  

जय बागेश्वरी सेकेन्डरी स्कुलमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया सोहाना चन्दले राम्रो तयारी रहेको र नेपालले केही न केही जितेर आउने कुरामा विश्वास रहेको बताउनुभयो।  प्रतियोगिता भियतनामको हो चिमिगं सहरमा आयोजना हुनेछ। 

प्रकाशित मिति: २७ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्