अन्य राजनीतिक दललाई कमजोर बनाउने हाम्रो नीति होइन : सभापति देउवा


 


काठमाडौँ, २७ भदौ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अरू राजनीतिक दललाई कमजोर बनाउने नीतिअनुसार वर्तमान सरकार निर्माण नभएको बताउनुभएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले दुई ठुला राजनीतिक दल मिलेपछि अरू पार्टीलाई सिद्ध्याउने हुन् की भन्ने भय पालेर नराख्न आग्रह गर्नुभयो । उहाँले कुनैपनि पार्टीलाई सिद्ध्याउने र कमजोर पार्ने नीति कांग्रेस र एमालेको नभएको जिकिर गर्नुभयो ।

सभापति देउवाले सबैलाई मिलाएर अघि बढाउन आफूहरूले चाहेको पनि स्पष्ट पार्नुभयो । उहाँले पछिल्लो समय पार्टी परित्याग गरेकाहरू पनि पार्टीमा पुनः फर्किने क्रम जारी रहेको भन्दै अझ बलियो पार्टी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले कांग्रेसलाई कमजोर बनाउनेहरू नेपालमा रहेको भन्दै सबैलाई एक गरेर बलियो पार्टी बनाउनुपर्ने बताउनुभयो । उहाँले आफूले अब सबै कुराबाट संन्यास लिने बेला आइसकेको भन्दै पार्टी, देशको चिन्ता अब नयाँ बन्ने नेताहरूले लिनुपर्ने बताउनुभयो ।

सभापति देउवाले भोलिका दिनहरू चुनौतीपूर्ण र महत्त्वपूर्ण अवसरका रूपमा रहेको भन्दै दुवैलाई मिलाएर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले अब पार्टीको नेतृत्व लिने नेताहरूलाई काम गरेर देखाउन पनि चुनौती दिनुभयो । उहाँले कांग्रेस र एमालेको सरकार बनेपछि देशभर उत्साह पैदा भएको बताउनुभयो ।

प्रकाशित मिति: २७ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्