प्रस्तावित १७ जना राजदूतको संसदीय सुनुवाई सकियो


 


काठमाडौँ २७ भदाै । संसदीय सुनुवाई समितिले विभिन्न देशका लागि प्रस्तावित १७ जना राजदूतको संसदीय सुनुवाई सम्पन्न गरेकाे छ ।

समितिले प्रस्तावित राजदूतहरूको विषयमा भदौ ३० गते बस्ने बैठकमा निर्णय गर्ने भएको छ । समितिले आज स्पेन, श्रीलङ्का, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूतसँग सुनुवाई गरेको छ । यसअघि, समितिले भारत, चिन, दक्षिण कोरिया, इजरायल, पाकिस्तान, साउदी अरेबिया, दक्षिण अफ्रिका, जर्मनी, रुसी महासङ्घ, कतार, डेनमार्क, मलेसिया र पोर्चुगलका लागि प्रस्तावित नेपाली राजदूतसँग सुनुवाई गरिसकेको छ ।

संसदीय सुनुवाईका क्रममा प्रस्तावित राजदूतहरूले आ–आफ्नो अनुभव, सोच र अवधारणा प्रस्तुत गर्दै र नेपाल र आफूले जिम्मेवारी पाएको देश बीचको कूटनीतिक सम्बन्ध सुदृढ, नागरिकस्तरको सम्बन्ध विस्तार, कृषि, प्रविधि, लगानी र पर्यटन लगायतका क्षेत्रमा भूमिका खेल्ने बताउनुभयो ।

संसदीय सुनुवाईका क्रममा आज स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपालले राजदूतका रूपमा आफूले राजनीतिक र कूटनीतिक सम्बन्ध विस्तार गर्ने, आर्थिक समृद्धिलाई केन्द्रमा राखेर कूटनीतिमा ध्यान दिने, व्यापार प्रवद्र्धन गर्ने, स्पेनमा रोजगारीका लागि पहल गर्ने लगायतका  कार्ययोजना प्रस्तुत गर्नुभयो ।

श्रीलङ्काका लागि प्रस्तावित राजदूत राम कृष्ण भट्टराईले द्विपक्षीय सम्बन्धलाई जीवित, सफल, सार्थक र उपलब्धिमूलक तुल्याउन आफू लागिपर्ने बताउँदै लुम्बिनीको विकासको लागि थप आर्थिक सहयोग जुटाउन प्रयास गर्ने, बौद्ध धर्मावलम्वीहरुलाई नेपालको तीर्थाटन गराउन प्रचार प्रसार गर्ने, लुम्बिनी, काठमाडौँ र कोलम्बोबिच नियमित हवाई उडान सञ्चालनको लागि पहल गर्ने द्विपक्षीय व्यापार वृद्धि तथा द्विपक्षीय लगानीको वातावरण निर्माणको लागि प्रयास गर्ने बताउनुभयो ।

संयुक्त अधिराज्यका लागि प्रस्तावित राजदूत चन्द्र कुमार घिमिरेले देशको हितलाई सर्वोपरि राखी संयुक्त अधिराज्यसँगको नेपालको ऐतिहासिक सम्बन्ध सुदृढ गर्ने, श्रम बजारको खोजी गर्ने, पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने, बेलायतमा रहेका नेपालीको हित र जलवायु सम्बन्धी मुद्दामा नेपालको पक्षमा पैरवी गर्ने बताउनुभयो ।

संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत लोकदर्शन रेग्मीले दुई देशबिचको समझदारी, विकास, सद्भाव र सहकार्य बढाउने, आपसी विश्वासलाई थप सुदृढ गर्ने तथा उच्चस्तरीय भ्रमणका लागि पहल गर्ने बताउनुभयो । 

उहाँले अमेरिकाको राजदूत भएर गएपछि कृषि, पर्यटन र सूचना प्रविधि जस्ता क्षेत्रमा लगानी केन्द्रित गरेर अगाडी बढ्ने योजना आफूले अगाडी सारेको पनि बताउनुभयो । गत साउन १४ गते सरकारले विभिन्न १७ देशका लागि राजदूतहरूको नाम सिफारिस गरेको थियो । 

सरकारले भारतका लागि डा. शङ्कर शर्मा, चिनका लागि प्राध्यापक डाक्टर कृष्णप्रसाद ओली, संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, चन्द्रकुमार घिमिरे संयुक्त अधिराज्य, डा. शिवमाया तुम्बाहाम्फे दक्षिण कोरिया, प्राध्यापक धनप्रसाद पण्डित इजरायल, रामकृष्ण भट्टराई श्रीलङ्का र रीता धिताललाई पाकिस्तानको लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

यसैगरी, सरकारले नरेशविक्रम ढकाल साउदी अरेबिया, प्राध्यापक डाक्टर कपिलमान श्रेष्ठ दक्षिण अफ्रिका, सनिल नेपाल स्पेन, डाक्टर शैल रुपाखेती जर्मनी, जङ्गबहादुर चौहान रुसी महासङ्घ, रमेशचन्द्र पौडेल कतार, सुम्निमा तुलाधर डेनमार्क, डा नेत्रप्रसाद तिमिल्सिना मलेसिया र प्रकाशमणि पोखरेललाई पोर्चुगलका लागि सिफारिस गरेको थियो ।

facebook sharing button

प्रकाशित मिति: २७ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्