मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित


 


काठमाडौँ । भदौ २८ गते शुक्रबार हुने तय भएको मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन उच्च अदालत सुर्खेतको अन्तरिम आदेशले स्थगित भएको छ ।

विद्यार्थीहरूले दायर गरेको एक रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतले बिहीबार निर्वाचन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि चुनाव स्थगित भएको हो ।

अदालतले असोज ६ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

विश्वविद्यालयको स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीमा बीएस्सी बायोलोजी विषयका पाचौँ सेमेस्टरका विद्यार्थी रञ्जित विकसमेतले आफूहरूको नाम मतदाता नामावलीमा समावेश नभएको भन्दै निर्वाचन स्थगित गर्न माग राखेर रिट दायर गरेका थिए ।

नेविसंघले अनेरास्ववियुको नियोजित योजनामा मुद्दा हाल्न लगाएर न्यायालयको समेत सेटिङमा शुक्रबारको स्ववियु चुनाव स्थगित गरिएको आरोप लगाएको छ । नेविसंघको जित निश्चित भएपछि अनेरास्वियुले पार्टी संयन्त्र र प्रदेश सरकारको दुरुपयोग गरी विद्यार्थीको अधिकार वञ्चित हुनेगरि स्ववियु चुनाव स्थगित गराएको आरोप नेविसंको छ ।

‘अदालतको आदेश पूर्वाग्रही छ, हामी स्वतन्त्र न्यायालयको पक्षमा छौँ । तर न्यायालयले एकपक्षीय कुरा सुनेर सेटिङमा चुनाव स्थगित गरेको छ । हामी यसको घोर भर्त्सना गर्दछौँ , नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले भनेका छन् ।

यसैबिच असन्तुष्ट पक्षले उपकुलपतिको राजीनामा माग गर्दै विश्वविद्यालय परिसरमा नाराबाजीसहित प्रदर्शन गरेको छ ।

प्रकाशित मिति: २७ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्