पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध


 


जुम्ला, भदौ २७ । पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ ।

अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

उक्त राजमार्गमा निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।

लगातार भारी वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा सवारीसाधन र तिनका यात्री अलपत्र परेका छन् ।

सडक डिभिजन कार्यालयले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति: २७ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्