हवाई टिकट बुकिङ सुरु, बसको कहिलेदेखि हुन्छ ?


 


काठमाडौँ, भदौ २७ । दसैँ–तिहारका लागि हवाई टिकट बुकिङ सुरु भएको छ ।

एयरलाइन्सहरूले दसैँका लागि भनेर अग्रिम बुकिङ नखुलाउने भएपछि पछि अभाव हुने डरले यात्रुहरुले एक महिना अघिदेखि नै अग्रिम बुकिङ थालिसकेका हुन् ।

वायुसेवा सञ्चालक सङ्घका अनुसार अनलाइनबाट सहज रूपमा टिकट पाइने भएपछि अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ सुरु भइसकेको छ । सङ्घका प्रवक्ता मुरारीधर जोशीले दसैँलक्षित अहिले सुगमभन्दा दुर्गम गन्तव्यतर्फको टिकट बुकिङमा यात्रुको चाप देखिएको बताए ।

बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले दसैँका लागि अहिले ६० प्रतिशतसम्म बुकिङ भइसकेको र अहिलेलाई घटस्थापना र फूलपाती आसपासका टिकटमा यात्रुको चाप देखिएको बताए । श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले अहिले ८० प्रतिशत जहाज भरिभराउ भएर उडान गरिरहेको र दसैँलक्षित बुकिङसमेत सुरु भएको जानकारी दिए ।

यसैगरी दसैँतिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गरिने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारी निकायसँगको छलफलमा असोज पहिलो सातादेखि खुला गर्ने तयारी भएको जनाएको छ ।

दसैँको १५ दिनअगावै लामो दुरीका सवारीको अग्रिम टिकट खुला गर्ने गरिँदै आएको छ ।

प्रकाशित मिति: २७ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्