एन्फा महिला लिगमा कोशीलाई पुलिसले हरायो


 



काठमाडौँ, २६ भदौ । एन्फा महिला लिगमा उच्च लयमा देखिएको कोशी प्रदेशलाई विभागीय टोली नेपाल पुलिस क्लबले हराएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा पुलिसले कोशीलाई ४–० गोलले हरायो । पुलिसको जितमा अनुष्का शेर्पाले २४औँ, निर्मला उपाध्यायले ४६औँ, सम्झना लावतीले ७९औँ र अमृता जैसीले ८८औँ मिनेटमा गोल गर्नुभयो ।

जितसँगै पुलिस शीर्षस्थानमा उक्लिएको छ । पुलिसको चार खेलबाट १० अङ्क पुगेको छ । समान खेलबाट नौ अङ्क बनाएको कोशी दोस्रो स्थानमा झरेको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता रहेको छ ।

दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।

यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।

प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्