यु–१९ टोलीको प्रशिक्षणका लागि २९ खेलाडी छनोट
काठमाडौँ, २६ भदौ । आइसिसी महिला यु–१९ टी–२० विश्वकप एसिया छनोटका लागि २९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो चरणको बन्द प्रशिक्षणका लागि २९ खेलाडी छनोट गरेको हो । प्रशिक्षण भदौ ३० देखि असोज १३ गतेसम्म दाङको लमहीमा हुने क्यानले जनाएको छ ।
छनोट प्रतियोगितामा नेपाल, आयोजक संयुक्त अरब इमिरेट्स (युएई) कुवेत र थाइल्यान्डको सहभागिता रहनेछ । सबै टोलीले एक अर्कासँग दुई खेल खेल्नेछन् ।
नेपालले कार्तिक २१ गते थाइल्यान्डसँग, कार्तिक २२ गते कुवेत र कार्तिक २४ गते युएईसँग खेल्नेछ । यस्तै नेपालले कार्तिक २५ गते थाइल्यान्ड, कार्तिक २७ गते कुवेत र कार्तिक २८ गते युएईसँग पुनः खेल्नेछ । शीर्षस्थानमा रहने टिमले विश्वकप खेल्नेछ । महिला यु–१९ टी–२० विश्वकप आगाजी वर्ष मलेसियामा हुनेछ ।
क्यानले बन्द प्रशिक्षणमा बोलाएको खेलाडीहरूमा सोनी पाख्रिन, अलिया यादव, मनिशा उपाध्याय, कृष्मा गुरुङ, विपिशा शाही, पूजा साउद, साना प्रविन, प्रतिमा शाह, स्नेहा महरा, साबित्रा धामी, अनु कडायत, मनिष बोहोरा, कृष्मा थापा, रबिना साउद, किरन कुमारी कुँवर र तृषना विक हुनुहुन्छ ।
यस्तै छनोटमा रिया शर्मा, अलिशा कुमारी यादव, भवानी कामत, आरती महतो, पूजा महतो, कुस्म गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, निरु जिटी, सिराना थापा, रचना चौधरी, आश्मा पुलामीमगर र सुस्मिता भुसाल पर्नुभएको छ ।
प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार