‘हिंसा’ शब्दको पक्षविपक्षमा भएकाे बहसले प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौँ २६ भदाै। प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ३० गते बस्ने भएको छ । उक्त बैठक सो दिन दिउँसो १ बजे बस्नेछ ।
सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुबीच ‘हिंसा’ शब्दको पक्षविपक्षमा भएका बहसले आजको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको यही भदौ १२ गतेको बैठकमा नेकपा (एमाले) का सांसद योगेश भट्टराईले नेकपा (माओवादी केन्द्र) को तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा हिंसा भएको उल्लेख गर्नुभएको थियो ।
सो बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसदहरुले त्यसप्रति आपत्ति प्रकट गर्दै संसद्को रेकर्डबाट उक्त शब्द हटाउन माग गरेका थिए । सभामुख देवराज घिमिरेले हिंसा शब्दका बारेमा अध्ययन गर्न सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिनुभएको थियो । उहाँले आजको बैठकमा हिंसा शब्द असंसदीय नरहेकाले रेकर्डबाट हटाउन नपर्ने सदनलाई जानकारी गराउनुभएको थियो ।
सो लगत्तै माओवादी केन्द्रका सांसदहरुले संविधान विपरीत हिंसा शब्द प्रयोग गर्न दिएको भन्दै आसनबाट उठेर विरोध जनाउनुभयो । सभामुखले समय दिएपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र सांसद देवेन्द्र पौडेलले हिंसा शब्दको प्रयोगले माओवादीको सशस्त्र द्वन्द्वलाई होच्याउने काम गरेको भन्दै आपत्ति प्रकट गर्नुभयो ।
त्यसैगरी, नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौला र सांसद रघुजी पन्तले हिंसा शब्द कुनै व्यक्तिप्रति लक्षित नगरिएको र सशस्त्र द्वन्द्वका क्रममा भएका जघन्य तथा अमानवीय क्रियाकलापप्रति लक्षित रहेको स्पष्ट पार्नुभएको थियो । बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध जनाइरहेपछि सभामुख घिमिरेले बैठकमा कार्यसूची अघि बढाउन पटकपटक आग्रह गर्नुभयो । सभामुखले आग्रह गर्दा पनि प्रतिपक्षी दलका सांसदहरु उभिइरहेपछि आजको बैठक स्थगित गरिएको हो ।
प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार