सुवासकाे नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने प्रधानमन्त्री ओलीको घोषणा


 


काठमाडौँ, २६ भदौ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान सभा अध्यक्ष स्व। सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गर्नुभएको छ।

बुधवार एमाले पार्टी केन्द्रीय कार्यालयमा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले सो घोषणा गर्नुभएको हो। उहाँले सुवासचन्द्र नेम्वाङको स्मृति ताजा राख्न र नेम्वाङका आदर्शलाई पछ्याएर उहाँको सम्झनामा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने बताउनुभएको हो।

उहाँले प्रतिष्ठानको बारेमा सम्पूर्ण निर्णय भने शुक्रबार बस्ने पार्टीको सचिवालय बैठकले गर्ने स्पष्ट पार्नुभयो। प्रतिष्ठान बनायो छोड्यो गर्ने नभई नेताहरूका नामका प्रतिष्ठान नेताहरूको आदर्श, नेताहरूको विचार, नेताहरूले हिँडेको बाटो, नेताहरूको व्यवहार, आचरण, नेताहरूको गतिशील इच्छा, आकाङ्क्षा र प्रवृत्ति अनुरूप चल्नुपर्ने बताउनुभयो।

नेताहरूका नामका प्रतिष्ठान सक्रिय बनाउने गरी पार्टी अघि बढ्ने पनि बताउनुभयो। पुष्पलाल प्रतिष्ठान पार्टीले बनाए पनि अहिले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजी सम्पत्ति झैँ लगेको बताउनुभयो। उहाँले पुष्पलालले पार्टी नछोडेको भन्दै नेपालले पार्टी छोडेपछि एमालेले नै पुष्पलाल प्रतिष्ठानको संरक्षणको जिम्मेवारी पाउनुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘सुवासचन्द्र नेम्वाङजीको स्मृतिलाई ताजै राख्नका लागि र उहाँको सम्झनामा उहाँका आदर्शलाई पछ्याएर केही कामहरू गरिरहनका लागि हामी एउटा सुवासचन्द्रजीका नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्छौँ भन्ने घोषणा गर्न चाहन्छु। ’

प्रधानमन्त्री ओलीले नेताको नाममा प्रतिष्ठान, विद्यालय खोलेर दुरुपयोग गरिएको भन्दै यस्ता कुरालाई समयक्रममा आन्दोलन, जनता, देशको हित र पक्षमा उभ्याउनुपर्ने बताउनुभयो। उहाँले प्रतिष्ठान कसैलाई कब्जा गर्न नदिइने बताउनुभयो।

संविधान जारी हुनुमा नेम्वाङको भूमिका महत्त्वपूर्ण

प्रधानमन्त्री ओलीले ऐतिहासिक दोस्रो संविधानसभाबाट संविधान जारी गर्नमा संविधानसभाका अध्यक्ष नेम्वाङको भूमिका महत्त्वपूर्ण रहेको र नेम्वाङ लोकतन्त्रको साँचो अनुयायी भएको बताउनुभयो ।

दोस्रो संविधान सभा असफल हुन नदिन र संविधान जारी गर्नमा संविधान सभाका अध्यक्ष नेम्वाङको अत्यन्त महत्त्वपूर्ण र सकारात्मक भूमिका रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले नेम्वाङले पदीय रूपमा मात्र नभई वैचारिकरूपमा पनि संविधान सभाको अध्यक्षता गर्नुभएको कुरा सधैँ देशको सम्झना भइरहने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेम्वाङ योग्य कानुनविद्, संविधानविद्का साथै लोकतन्त्रको साँचो अनुयायी हुनुहुन्थ्यो । उहाँको निधनबाट परिवार र हाम्रो पार्टीलाई असाधारण क्षति पुगेको छ नै, देशले जनपक्षीय र देशभक्त व्यक्तित्व गुमाएको छ ।’

अध्यक्ष ओलीले नेम्वाङको नाममा पार्टीले केन्द्रीय प्रतिष्ठान स्थापना गर्ने घोषणा गर्नुभयो । उहाँले नेपालको परिवर्तनमा योगदान गर्नुभएका नेताहरूका नाममा स्थापना भएका र गरिने यस्ता प्रतिष्ठान ती नेताहरूका विचार, आदर्श, उनीहरूले अँगालेको बाटो, व्यवहार र आचरण अनुरूप चलाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेम्वाङले देखाउनुभएको आदर्श र उद्देश्य साकार पार्ने प्रण गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्