वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ


 


काठमाडौं, भदौ २६ । वैदेशिक रोजगारमा ईटली तथा क्यानडा पठाइदिने भन्दै विभिन्न व्यक्तिहरूबाट एक करोड ७४ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ परेकाहरुलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार सार्वजनिक समेत गरेको छ ।

पक्राउ पर्नेमा डडेलधुराको नवदुर्गा गाउँपालिका–४ घर भइ हाल काठमाण्डौ महानगरपालिका–२९ अनामनगर बस्ने ३४ वर्षीय कर्णसिंह साउद तथा रोल्पाको माडी गाउँपालिका–१ जवाड घर भइ हाल कलङ्की बस्ने २९ वर्षीय रणबहादुर घर्ती रहेका छन् ।

कार्यालयका अनुसार साउदले ईटली पठाउने भन्दै आठ जनाबाट नौ लाख तथा घर्तीले शिवराम थापासमेत आठ जनालाई क्यानडा पठाउने भन्दै पीडितहरूबाट पटकपटक गरी एक करोड ६५ लाख रकम लिई सम्पर्कविहीन भएका थिए ।

ठगी गरेको उजुरी परेपछि उनीहरुलाई पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्