गण्डकीमा प्राविधिक शिक्षालय बनाउन कोरियाले डेढ अर्ब सहयोग गर्ने


 


पोखरा । गण्डकी प्रदेश सरकारले सञ्चालनमा ल्याएको गण्डकी प्राविधिक शिक्षालय निर्माण र सञ्चालनमा कोरिया अन्तर्राष्ट्रिय नियोग (कोइका)ले सघाउने भएको छ ।

कोइकाले करिब डेढ अर्ब रुपैयाँ आर्थिक सहयोग गर्ने गरी सम्झौता भएको गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले जानकारी दिए । उनका अनुसार १ अर्ब ४० करोड सहयोग गर्न कोइका तयार भएको छ ।

काइकाको नेपाल स्थित कन्ट्री डाइरेक्टर सहितको टोलीले शिक्षालय निर्माण स्थलको स्थलगत अध्ययन गरेर सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

‘भवन बनाउनेदेखि प्राविधिक सहयोग उहाँहरूले गर्नुहुनेछ । हामीले त्यस ठाउँमा बिजुली, पानी र सडकको व्यवस्था गरिदिनुपर्छ,’ उनले भने, ‘जग्गा हामीले खोजिदिने हो, खोजिसकेका छौँ । प्रदेश सरकारको एउटा महत्त्वपूर्ण उपलब्धि यो पनि हो ।’ प्रदेश सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानमार्फत गण्डकी प्राविधिक शिक्षालय (जिआइटी) सञ्चालन गर्न लागेको हो ।

यसका लागि नेपाल सरकारले स्याङ्जाको फेदीखोला गाउँपालिका १ स्थित गुर्धुममा १ सय ६० रोपनी जग्गा दिइसकेको छ । प्रदेशभित्र आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गरी युवाहरूलाई रोजगारीमा आबद्ध गर्ने उद्देश्यका साथ गण्डकी सरकारले प्रतिष्ठान स्थापना गरेको थापाले बताए । उनले मन्त्री भएको १ सय दिन पुगेको अवसरमा आफ्ना कामको फेहरिस्त सार्वजनिक गरेका छन् ।

गएको जेठ १६ गते उनी सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा नियुक्त भएका थिए ।

अहिले उनको मन्त्रालय टुक्रिएर सामाजिक र स्वास्थ्य छुट्टै मन्त्रालय बनेको छ । थापाले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन अन्तर्गत प्रदेशका २५ वटा विद्यालयहरूमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम सञ्चालन गरी विद्यार्थीलाई दक्ष बनाउने काम थालिएको बताए ।

यस्तै, फ्राइडे फर फ्युचर कार्यक्रम मार्फत बालबालिकालाई संस्कार सिकाउने शिक्षाको समेत प्रदेश सरकारले निर्देशिका तयार गरेको उनले सुनाए ।

प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्