भेरी अस्पतालमा जापानिज इन्सेफ्लाइटिसको बिरामी फेला


 


बाँके, भदौ २५ । बाँकेको नरैनापुर गाउँपालिकामा जापानिज इन्सेफ्लाइटिसको बिरामी फेला परेको छ ।

नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्काले जानकारी दिए ।

उनले बिरामीको एक सातासम्म अस्पतालको ‘आइसीयू’मा उपचार भएको र अहिले ती बालिकाकाको अवस्था सामान्य भएको बताए ।

‘प्रयोगशाला परीक्षणमा बालिकालाई जापानिज इन्सेफ्लाइटिसको भएको पुष्टि भयो,’ उनले भने ।

स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले पनि भेरी अस्पतालमा भर्ना भएकी नरैनापुर –१ मतहनियाका नौ वर्षीया बालिकामा जापानिज इन्सेफ्लाइटिस भएको पुष्टि भएको बताए ।

ती बालिकालाई जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप लगाएको वा नलगाएको बारे पनि थाहा हुन नसकेको जनाइएको छ ।

उनले जापानी इन्सेफ्लाइटिसबाट जोगिन जन्मेको १२ देखि २३ महिनाभित्र खोप लगाइसक्नुपर्ने प्रावधान रहेको उल्लेख गर्नुभयो ।

चिकित्सकका अनुसार सुँगुर र चरामा जापानिज इन्सेफ्लाइटिसका भाइरस हुन्छन् ।

ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि संक्रमित गराउँछ । सो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्ने बताइएको छ ।

जापानिज इन्सेफ्लाइटिस भइसकेपछि ज्वरो आउने, टाउको दुख्ने, जिउ काम्ने र बान्ता लागेजस्तो लक्षण देखापर्ने भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले बताए ।

प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्