सहकारीको रकम अपचलनमा मुछिए उपसभापति गुरुङ


 


काठमाडौं, भदौ २५ । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङमाथि सहकारीको रकम दुरुपयोग गरेको आरोप लागेको छ ।

सहकारीको रकम अपलनको आरोपमा गुरुङविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी परेको छ ।

धनराजकी श्रीमती ज्योति गुरुङ ललितपुरको मितेरी सहकारीको महाप्रबन्धक रहेका बेला रकम हिनामिना गरेको आरोपमा सीआईबी उजुरी परेको हो । ज्योतिले १४ करोड ८१ लाख रकम दुरुपयोग गरेको र त्यसमा धनराजको पनि संलग्नता रहेको उजुरीमा उल्लेख छ । उनीविरुद्ध सहकारीका अध्यक्ष कुम्भराज गुरुङले प्रहरीमा उजुरी दिएका हुन् ।

ज्योतिलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी गरी नेपाल ल्याएर उनको सम्पत्ति बेचेर भए पनि सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने वातावरणको माग उजुरीमा गरिएको छ ।

धनराज र ज्योति मिलेर रकम हिनामिना भएको चाल पाएपछि सहकारीका बोर्ड सदस्य मिलेर दुवैसँग छलफल गरी कागज गराएको प्रमाण सहकारीसँग रहेको दाबी अध्यक्ष कुम्भराजले गरेका छन् ।

गुरुङमाथि सत्ताको आडमा अनुसन्धान नभएको भन्दै संसद्मा पनि प्रश्न उठेको छ ।

सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिमा पनि मितेरीका अध्यक्ष गुरुङले बयान दिएका थिए ।

सहकारीको रकम अपचलनको आरोप लागेपछि कांग्रेसका उपसभापतिसमेत रहेका सांसद गुरुङले भने विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेका छन् ।

उनले श्रीमतीले लिएको ऋणको विषयमा आफूलाई जानकारी नभएको र उनीसँग २०७६ फागुनमा ललितपुर जिल्ला अदालतमा सम्बन्धविच्छेद गरेको बताएका छन् ।

प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्