क्यानडामा हुने त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोली घोषणा


 


काठमाडौं, भदौ २५ । क्यानडामा हुने विश्वकप लिग दुई अन्तर्गतको त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

यस्तै टोलीमा आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण के.सी., गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने, देव खनाल र अर्जुन साउँद रहेका छन् ।

लामिछाने १२ महिना पछि ओडीआई टोलीमा फर्किएका छन् । उनले एकदिवसीयमा पछिल्लो पटक भारतसँग एशिया कपमा खेलेका थिए । अर्जुन साउँद पनि झण्डै १४ महिना पछि नेपालको एकदिवसीय टोलीमा परेका हुन् ।

विश्वकप लिग दुई अन्तर्गत क्यानडामा हुने त्रिदेशीय श्रृङ्खलामा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् ।

प्रतियोगिता यही भदौ ३१ देखि असोज १० गतेसम्म हुनेछ । यो प्रतियोगितामा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेको छ ।

तेस्रो खेलमा असोज ६ गते क्यानडा र असोज ८ गते ओमानसँग रहेको छ । सबै खेल नेपाली समयअनुसार वेलुका पौने ८ बजे शुरु हुने क्यानले जनाएको छ ।

प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्