माघ २५ भित्र स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नुपर्छ – पौडेल


 


काठमाडौं, माघ १७

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले यही माघ २५ भित्र स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन । यथासिघ्र चाँडो संसदबाट निर्वाचन सम्बन्धी कानुन पारित गरेर तत्काल निर्वाचनको मिति घोषणा गर्न दलहरु जुट्नुपर्नेमा पौडेलले जोड दिए ।

पार्टीको भ्रातृ संस्था जनसम्पर्क समिति दक्षिण कोरियाको कार्यक्रममा सहभागी भई आज स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएकाले दलहरु गम्भीर बन्न आग्रह समेत गरे ।

पौडेलले अगामी जेठभित्र स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न सके मङ्सिरमा प्रदेश सभा र संसदको निर्वाचन सम्पन्न हुनसक्ने बताए । संविधान संशोधन नभई निर्वाचन हुन नसक्ने मधेसी मोर्चाको अटान त्याग्नुपर्ने पौडेलको भनाई छ ।

स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनबारेमा मधेसी मोर्चाको भनाइ सार्वजनिक गर्न माग गर्दै पौडेलले प्राप्त उपलब्धी संस्थागत गर्नकै लागि भएपनि सबै दल मिलेर निर्वाचन जानुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्