पक्राउ परेको भोलिपल्टै छुटे कांग्रेसका प्रदेश सांसद केसी


 


बुटवल । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सांसद धनबहादुर केसी सोमबार रिहा भएका छन् ।

किर्ते मुद्दामा पक्राउ परेका प्रदेश सांसद केसी कारागार नै नबसी रिहाइ भएका हुन् । ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहर भइ अदालतले जेल चलान गर्न आदेश दिएको थियो।

श्रीमतीसँगको अंश मुद्दामा किर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई ०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो ।

एक वर्ष जेल सजाय र २ हजार जरिवाना तोकिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालतमा उपस्थित भएका थिए ।

अदालतबाट दोषी ठहर भएका केसीलाई आइतबार नै कारागार चलान गर्न भनिएको थियो । तर पूर्व रुकुममा कारागार नभएकाले उनलाई रुकुम पश्चिमको कारागारमा पठाइएको थियो ।

उनले सोमबार फौजदारी अपराधसंहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रुपैयाँ तिरेर रिहा भएका हुन्।

सांसद केसीले १ दिन बराबरको ३ सय रुपैयाँका दरले १ लाख ९ हजार २ सय रुपैयाँ बुझाएका थिए ।

२०४८ असार ९ मा तत्कालीन रुकुम जिल्ला अदालतले कागजात किर्ते मुद्दामा केसीलाई एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्