नागरिकलाई खुशी बनाउने गरी सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह


 


काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई समृद्ध र नागरिकलाई खुशी बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् । सोमबार मन्त्रालयमा नेकपा एमालेको शहरी विकास हेर्ने विभागको तर्फबाट नेता शेरबहादुर तामाङ नेतृत्वले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जनतालाई सन्तोष पार्न सरकारले आवश्यक पहलकदमी लिइरहेको बताए । ऐनहरुको अभावका कारण शहरी विकासलाई व्यवस्थित गर्न नसकिएको भन्दै अहिले सरकारले पुराना ऐनहरुको संशोधन गरी नयाँ ऐन बनाउने कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । आफू मन्त्री बनेर आइसकेपछि सबैभन्दा बढी जोड विकास निर्माणका कामहरु र नीति बनाउने कामलाई दिएको स्पष्ट पारे । । नीति निर्माण र कार्यान्वयनमा सबैले सहयोग गर्ने अपेक्षा राखेको समेत उनले बताए ।

उनले भने, ‘ऐनहरुको अभावको कारणले गर्दा, पुराना ऐनहरुलाई समय बदलिसकेको छ, पुरानै जमानाको ऐनले काम दिँदैन । त्यो कारणले गर्दा म यहाँ आइसकेपछि सबैभन्दा बढी जोड दिएको विकास निर्माणका कामहरु त भइराख्छ तर नीति बनाउने कुरामा काम गरेको तर कार्यान्वयनमा जान नसकेको अवस्था छ । मन्त्रिपरिषद्‌मा लगेर, संसदमा लगेर ऐन बनाउने कुरामा मैले जोड दिइरहेको छु । मलाई विश्वास छ, तपाईंहरुको त्यसमा पूरा सहयोग रहनेछ । अहिले सरकार नेपाली काँग्रेस र नेकपा एमालेकै हो । भनेपछि हामीले जनतालाई सन्तोष पार्न के गर्नुपर्छ, त्यसमा हामी लाग्नुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले गाउँपालिका वा नगरपालिकाभित्र बस्ने मानिसहरुको जीवन सहज हुनुपर्ने र त्यसका लागि शहरहरु विकास गर्दा सुविधायुक्त गाउँ र शहर बनाउनुपर्ने बताए । उनले अत्यावश्यक भौतिक पूर्वाधारहरु गाउँगाउँमै पुर्याउनुपर्नेमा सरकार लागिरहेको बताए । नेकपा एमालेको शहरी विकास विभागले शहर व्यवस्थ्ति बनाउने सुझावसहितको ज्ञापन पत्र उपप्रधानमन्त्री सिंहलाई बुझाएका हुन् ।

प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्