चित्रबहादुर केसी भन्छन्– सत्तामा बस्ने रमाएका छन्, बाहिर बस्ने रुँदै हिँडेका छन्


 


काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा तत्काल विद्रोहको सम्भावना नभए पनि देशको राजनीतिक वातावरण सहज नभएको बताएका छन् । सोमबार रातोपाटीसँग कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रतिरोध गर्ने कुरा धम्की मात्र भएको स्पष्ट पारे । पछिल्लो राजनीतिक अवस्थाको चित्रण गर्दै केसीले सत्तामा बस्ने रमाएका र सत्ता बाहिर बस्ने रुँदै हिँडेका बताएका छन् ।

‘सत्तामा बसेका रमाएका छन् । सत्ता बाहिर हुने रुँदै हिँडेका छन् । जनतामा गएर कसले पत्याउँछ ?’, उनले भने– ‘भर्खरै विद्रोह हुने सम्भावना देखिँदैन । धाक धक्कु मात्रै हो । जे भए पनि मुलुकमा सहज वातावरण बनिराखेको छैन ।’

उनले केपी ओली नेतृत्वको वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकारको मूल्याङ्कन गर्न सय दिन कुनै नपर्ने जिकिर गरे । सत्ताधारी नेताहरूको चरित्र, नीति, व्यवहार, संस्कृति कमाउ धन्दा बाहेक केही नभएको केसीको भनाइ छ ।

‘नयाँ भएको भए पो मूल्याङ्कन गर्न सय दिन कुर्नु । यी सत्तामा बसेर कहिल्यै केही नगरेर चोखा पनि हैनन् । सत्तामै नगएका पार्टीलाई हेर्ने हो सय दिन । यिनले कति वर्ष खाए कति वर्ष’, उनले भने, ‘उनीहरूको चरित्र, नीति, व्यवहार, संस्कृति जम्मै त्यही हो नि । सत्तामा जाऊ कमाउ, अर्को चुनावलाई पैसा कमाउ फेरि गएर भोट जितेर आउ फेरि रजाइँ गर । यो उनीहरूको घोषित नीति नै हो’, केसीले भने ।

यस्तै उनले वामपन्थी नेताहरूमा सैद्धान्तिक रूपले विचलन आएपछि परिणाम नराम्रो आएको जिकिर गरे । ‘यिनीहरू प्राय सबै हामीसँग थिए । हामीसँग बस्दा यस्तो बदमासी गर्न पाइँदैनथ्यो । सैद्धान्तिक र साङ्गठनिक रूपमा विचलन आएपछि कुन बेला सहज थियो, जहिले पनि सङ्कट थियो नि’, केसीले भने, ‘यिनीहरूको चरित्र र व्यवहार हेर्दा के भनेर वामपन्थी छुट्टाउने ? जसको घाँटीमा हेरे पनि गलामा सुनका सिक्री बाँधेका छन् । हातमा सुनका बाला लगाएका छन् । कमरेड भन्न छाडेका छैनन् । क्रान्तिकारी कुरा गर्न छोड्दैनन् ।’

प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्