प्रस्तावित दुई न्यायाधीशमाथि सुनुवाई हुँदै


 


काठमाडौं, माघ १७

सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस उच्च अदालतका दुई मुख्य न्यायाधीशमाथि आज संसदीय सुनुवाई हुदैछ । सिंहदरवारमा बस्ने संसदीय सुनुवाई बिशेष समितिको बैठकमा न्यायाधीशका लागि सिफारिस तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीमाथि सुनुवाई हुनेछ ।

केसी, बिराटनगर उच्च अदालतका मुख्य न्यायाधीश र भण्डारी, पोखरा उच्च अदालतका मुख्य न्यायधीश हुन । गत पुष १८ गते बसेको न्याय परिषद्को बैठकले दुवैलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

२१ जना न्यायधीश रहने सर्वोच्च अदालतले दुई जना न्यायाधीश नियुक्त भएपछि पूर्णता पाउनेछ । समितिले दुवै न्यायाधीशमाथि आज छुट्टा छुट्टै सुनुवाई गर्ने समिति सदस्य समेत रहेका एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए । सिफारिस दुवै न्यायाधीशबिरुद्ध एक एकवटा उजुरी परेका छन् ।

समितिले गत माघ १४ गते नै उजुरीकर्तालाई बोलाएर सोधपुछ गरेको थियो । दुवैको सुनुवाई आजै सकिने भएपनि लेखा समिति सभापतिको निर्वाचन र संसद बैठक परेकाले आजै अनुमोदन गर्ने–नगर्ने बारे निर्णय हुने सम्भावना भने कम रहेको ढकालले बताए ।

यसैबीच, संवैधानिक परिषद्ले राजनीतिक भागबण्डाका आधारमा निर्वाचन आयोगमा ३ जना आयुक्तको नाम सिफारिस गरेपनि संसद सचिवालयले सुनुवाईका लागि औपचारिक पत्र नपठाएकाले सो माथिको प्रक्रिया भने आज सुरु नहुने समितिले जनाएको छ ।

प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्