खेलकुद क्षेत्र नेपाललाई विश्वभर चिनाउने कडी हो : सभापति देउवा
काठमाडौँ, २३ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई विश्वभर चिनाउने कडीका रूपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताउनुभएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा पाराओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्द्धनलाई सम्मान गर्दै देउवाले यस्तो बताउनुभएको हो ।
पार्टी कार्यालय सानेमामा आइतबार आयोजित कार्यक्रमबिच नेपाली कांग्रेसका सभापति देउवाले पलेशालाई पाँच लाख, प्रशिक्षक नेगी लामालाई एक लाख ५० हजार र पारा ओलम्पिकमा सहभागी अर्का खेलाडी भरतसिंह महतालाई ५० हजार रुपियाँ पुरस्कार र सम्मान पत्र प्रदान गर्नुभयो ।
पलेशाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जित्नु भएको हो ।
सभापति देउवाले खेलाडीहरू राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीको सम्मान गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले नेपाली कांग्रेसले खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पहलकदमी गरिरहेको भन्दै आगामी दिनमा अझ बढी पहलकदमी लिने विश्वास व्यक्त गर्नुभयो। सभापति देउवाले नेपालको इतिहासमा अन्तर्राष्ट्रिय स्तरको कांस्य पदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको भन्दै गोवर्द्धनको प्रशंसा गर्नुभयो।
यसैगरी सम्मान कार्यक्रमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीलाई विदेश पलायन हुनबाट रोक्न उनीहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारी दिनुपर्ने बताउनुभएको छ ।
उहाँले नेपालमा खेलकुदको सम्भावना बढी रहेको भएपनि खेलाडीहरु विदेश पलायन भइरहेको अवस्था रहेको बताउनुभयो ।
उहाँले १३औँ सागमा सहभागी २०७ जना खेलाडीमध्ये सय बढी खेलाडीहरु विदेश पलायन रहेको जानकारी आफूले पाएको पनि बताउनुभयो । उहाँले खेलाडीलाई देशमा सुविधा दिनसके देशमै रहने वातावरण बन्ने बताउनुभयो । सबैले खेलकुदलाई बढी प्राथमिकता दिन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘नेपालमा खेलकुदको सम्भावना बढी छ । धेरै खेलाडी विदेश पलायन भइसकेका छन् । हिजो अस्तिमात्रै पत्रिकामा १३औँ सागमा २०७ जनामा एक सय खेलाडी विदेश पलायन भइसकेको बताएका छन् । धेरै खेलाडीहरु विदेश पलायन भएकाले तीन कुरामा मात्रै खेलाडीलाई यो देशमा सुविधा दिनसक्यो भने पक्कै पनि खेलाडीहरु देशमै रहने वातावरण बन्छ ।’’
प्रकाशित मिति: २३ भाद्र २०८१, आइतबार