कांग्रेस-एमाले सरकार टिकिरहे माओवादी बलियो भएर आउँछ : प्रचण्ड


 


विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समानुपातिक र समावेशी अधिकारलाई उल्टाउने गरि संविधान संशोधन हुन नसक्ने बताएका छन् ।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संविधान संशोधनको विरोधी आफूहरू नभएको जिकिर गरे। तर समानुपातिक र समावेशी अधिकारलाई उल्ट्याउने गरि संविधान संशोधन हुन नसक्ने उनले जिकिर गरेका छन् ।

जनताले पाएको अधिकार उल्ट्याउने गरी र समानुपातिक र समावेशी प्रणालीलाई राष्ट्रिय सभामा लाने गरि संशोधन गर्न खोजिए सहमत हुन नसकिने उनको भनाइ छ । प्रचण्डले जनताले पाएको अधिकार अझै थप्ने गरी गरिने संविधान संशोधनमा आफ‍ूहरूको सकारात्मक समर्थन नै हुने तर्क गरे ।

त्यस्तै उनले अहिले माओवादीको ध्यान सरकार बनाउनेतर्फ नरहेको र नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन २०८४ सालसम्म जारी राखे आफूहरूलाई पार्टी सुदृढ र संगठित गर्न सजिलो हुने बताए ।

दाहालले अहिलेको गठबन्धनको सरकार भ्रष्टाचारीहरूलाई जोगाउन निर्माण भएको आरोप समेत लगाएका छन् ।

प्रचण्डले आफूले देशलाई बंगलादेश बनाउँछु भनेर कहिल्यै नभएको बताउँदै वर्तमान गठबन्धनले दुइतिहाईको दम्भ र अहंकार देखाए जनताले बंगलादेशको परिस्थिति ल्याउन सक्नेतर्फ सचेत गराएको स्पष्ट पारे ।

प्रकाशित मिति: २३ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्