घुससहित पक्राउ परेका इन्जिनियर, सब इन्जिनियर र बिचौलिया दोषी ठहर


 


काठमाडौं । घुससहित पक्राउ परेका पोखरा महानगरपालिकाका इन्जिनियरसहित ३ जना दोषी ठहर भएका छन्।

घुससहित पक्राउ परेका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र बिचौलिया सुरज कुँवर विशेष अदालतबाट दोषी ठहर भएका हुन्।

उनीहरुले घर निर्माणको नक्सा प्रमाणपत्र दिने क्रममा घुस लिएका थिए ।

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले इन्जिनियर बराल र सब–इन्जिनियर रोकायालाई जनही १ लाख ७५ हजार रुपैयाँ जरिवाना र ८ महिना कैद सजाय सुनाएको हो।

घुस दिन मतियारको रूपमा काम गरेका सुरजलाई विशेष अदालतले आधा अर्थात् ८७ हजार ५ सय रुपैयाँ जरिवाना र ४ महिना कैद सजायको फैसला सुनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत २८ गते पोखराबाट १ लाख ५० हजार रुपैयाँ घुससहित सब इन्जिनियर उषाकिरण र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरजलाई रंगेहात पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा नाम जोडिएपछि केही दिनपछि अख्तियारले इन्जिनियर शिवप्रसादलाई पनि पक्राउ गरेको थियो।

प्रकाशित मिति: २३ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्