विवाहको प्रलोभन देखाएर बलात्कार, कुटेर गरेर गर्भपतन


 


सुनसरी । भोक्राहा नरसिंह गाउँपालिकाकी एक २३ वर्षीय युवतीले आफूलाई विवाहको प्रलोभन देखाएर पटक–पटक बलात्कार गरेको र गर्भवती भएपछि कुटेर गर्भपतन गराएको बताएकी छन् ।

पीडित युवतीले पत्रकार सम्मेलन गरी इनरुवा–३ का २४ वर्षीय इमारान मियाँले आफूलाई यस्तो गरेको आरोप लगाएकी हुन् ।

उनले युवकले आफूलाई तिमीसँगै विवाह गर्ने भनी एक वर्षअघिदेखि पटक पटक शारीरिक सम्बन्ध राखेको र गर्भ रहेपछि कुटपिट गरेको बताइन् ।

आफ्नो इक्छाविपरीत सुरुमा बलात्कार गरेको, पछि विवाह गर्ने प्रलोभनमा पारेको र २०८० पुस महिनामा आफू गर्भवती भएकोमा केटा पक्षका परिवारले तीन महिनाभित्रै कुटेर गर्भपतन गराएको उनको आरोप छ ।

शारीरिक सम्बन्धपछि गर्भ बसेको थाहा पाएपछि केटाले औषधी खाएर गर्भ तुहाउन दबाब दिएको र नमानेपछि बच्चा राख्ने र परिवारसँग मिलेर बस्ने भनी झुटो आश्वासन दिएर इमरानले गएको फागुनमा आफ्नो घरमा बोलाएर कुटपिट गरेको उनले बताइन् ।

फागुन २६ गते केटासहित उनका परिवारका सदस्यले कुटेर गर्भपतन गराएको दाबी युवतीको छ । पीडितले प्रमाणसहित गाउँमा पञ्चायती बस्दा र छलफल गर्दा भोक्राहा नरसिंह गाउँपालिका–५ का वडा अध्यक्ष हबिब मन्सुरीदेखि प्रदेश सभा सदस्य हाजी इसराइल मन्सुरीसम्मको उपस्थितिमा जातीय संस्कार अनुसार मिलाउने कुरा भएको तर अहिले दोषी उम्काउने खेल गरेको उनको भनाइ छ ।

उजुरी लिएर प्रहरीमा पुगेपनि प्रहरीले आलटाल गरेपछि सबै मेडिकल रिपोर्ट हेरेर जबरजस्ती करणी मुद्दा दर्ता गरेको भए पनि कुटेर गर्भपतन गराएको मुद्दा दर्ता नगरेको पीडितको गुनासो छ ।

प्रहरीमा मुद्दा गएपछि उक्त मुद्दालाई कमजोर पार्न आफूलाई जबरजस्ती फकाएर भारत लगेर बेहोस बनाई आफूलाई केही नभएको, जबरजस्ती करणी र गर्भपतनसम्बन्धी समस्या नभएको कागज बनाएर प्रहरीमा पेस गरेको सुन्नमा आएको युवतीको भनाइ छ ।

घटनामा आरोपित इमरानका बुवा हसबुल मियाँले भने केटीले जालसाजी र निराधार आरोप लगाएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति: २३ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्