वैदेशिक रोजगारीमा जाने कामदारहरुले अनलाइनबाटै श्रम स्वीकृति लिन सक्ने


 


काठमाडौं, माघ १७

वैदेशिक रोजगारीमा जाने कामदारहरुले भोली देखि अनलाइनबाटै श्रम स्वीकृति लिन सक्ने भएका छन् । सबै श्रम इजाजतको आवेदन अनलाइनबाटै गर्न पाउने भएपछि लाइन बस्नु नपर्ने भएपछि सेवाग्राहीलाई राहत मिल्ने भएको छ ।

गत माघ ३ गतेदेखि सुरु गर्ने भनिए पनि प्राविधिक रूपमा तयारी पूरा नभएका कारण दुई सातापछि भोलीदेखि मात्र सुरु गर्न लागिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

श्रम स्वीकृति अनलाइनबाट गर्नका लागि सबै तयारी पूरा भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्दमणि भुर्तेलले जानकारी दिए । विभागले गत पुस ३ गतेदेखि पूर्व श्रम स्वीकृति दिन सुरु गरिसकेको छ ।

वैदेशिक रोजगार व्यवसायी कम्पनीले पूर्व श्रम स्वीकृति लिने काम अनलाइनबाटै गर्दै आएका छन् । श्रम स्वीकृति अनलाइनबाट सुरु भएपछि श्रम इजाजतको प्रक्रियाका लागि कामदारलाई बारम्बार काठमाडौको तहाचलस्थित विभागको कार्यालयमा पुग्नुपर्ने छैन ।

श्रमका लागि उपत्यका र उपत्यकाबाहिरका जुनसुकै ठाउँबाट पनि अनलाइन आवेदन गर्न सकिनेछ । सबै प्रक्रिया टुङ्गिएपछि श्रम स्वीकृतिको स्टिकरका लागि मात्रै कामदारले पासपोर्ट लिएर विभागमा जानुपर्ने हुन्छ ।

यो प्रणाली कार्यान्वयनमा आएपछि कामदारलाई अहिले विभागमा हुने सास्ती घट्ने र दलालको ठगी नियन्त्रण हुने दाबी मन्त्रालयको छ ।

प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्