‘खानेपानी समस्या समाधान गर्न सरकार ठोस कार्ययोजनाका साथ अघि बढेको छ’


 


वीरगञ्ज २२ भदाै। खानेपानी मन्त्री प्रदीप यादवले आम जनताको आधारभूत आवश्यकतामा रहेको स्वास्थ्य शिक्षासँगै खानेपानी समस्यालाई समाधान गर्न सरकार ठोस कार्ययोजनाका साथ अगाडी बढेको बताउनुभएको छ ।

वीरगञ्जको लिङ्क रोड घण्टाघर स्थित स्माइल डेण्टल क्लिनिकको आज एक कार्यक्रमबिच उद्घाटन गर्दै मन्त्री यादवले निजी क्षेत्रको साथ र समर्थनले स्वास्थ्य क्षेत्रलाई ग्रामीण दूर दराजसम्म पुर्‍याउन सहज हुने बताउनुभयो ।

उहाँले मधेश प्रदेशका पर्सासहित आठै जिल्लामा सुख्खा याममा खानेपानीको समस्या देखिएको र यसलाई स्थायी रुपमा समाधान गर्न चुरे संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

चुरेको संरक्षणविना मधेश मरुभूमि बन्ने हुँदा यस क्षेत्रका स्थानीय बासिन्दा, सरोकारवाला निकाय तथा तिनै तहका सरकारको सामूहिक प्रयासबाट मात्रै मधेशलाई बचाउन सकिने बताउनुभयो ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गुणस्तरीय सेवा प्रदान गर्ने उद्घोषका साथ वीरगञ्जमा सञ्चालनमा आएको स्माईल डेण्टल क्लिनिकद्वारा वीरगन्जवासी मात्र नभई मध्य तराईका स्थानीय बासिन्दा लाभान्वित हुने विश्वास प्रकट गर्नुभयो ।

प्रकाशित मिति: २२ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्