झाडापखालाका बिरामी बढेपछि नरैनापुरमा छुट्टै उपचार कक्ष स्थापना


 


बाँके २२ भदौ । मौसम परिवर्तनसँगै बाँकेको नरैनापुरमा झाडापखालाका बिरामी बढ्न थालेका छन् ।

मौसम परिवर्तन, खानपिनमा समस्या, पानीको स्रोत दूषित हुनु, खुला दिसा गर्ने परम्परा, पानी निर्मलीकरण नगरी पिउनु लगायतका कारणले नरैनापुरमा झाडापखाला देखिएको हो ।

दुई सातादेखि नरैनापुरमा झाडापखालाका बिरामीको सङ्ख्या बढ्न थालेपछि नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखाले आज शनिवार नरैनापुर(६ गङ्गापुर स्वास्थ्य चौकी र वडा नं २ लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आपतकालीन स्वास्थ्य सेवा सुरु गरेको स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले जानकारी दिनुभयो ।

नरैनापुरमा झाडापखालाका बिरामी बढ्दै गएपछि छुट्टै वार्ड (उपचार कक्ष) को स्थापना समेत गरिएको छ । उक्त वार्डमा १० देखि १५ जना बिरामीलाई भर्ना गरेर उपचार गर्न सकिने संयोजक शाहले बताउनुभयो ।

झाडापखालाका बिरामीको उपचारका लागि आठ जना स्वास्थ्यकर्मी राखिएको छ भने आज मात्रै ५ जनालाई भर्ना गरेर उपचार सुरु गरिएको शाहले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २२ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्