कर्मचारीहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन – भ्रष्टाचार गर्ने नेताहरुको रेकर्ड राख्नुस्, तर प्रयोग नहुनुस्


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने नेताहरुको रेकर्ड राख्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

२१ औँ निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कर्मचारीहरुलाई भ्रष्टाचार जस्तो दुष्कर्ममा सहभागी नहुन निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले भने, ‘तपाईँहरु कतै प्रयोग नहुनुस् । भ्रष्टाचार जस्तो दुष्कर्ममा सहभागी नहुनुस् । तपाईँहरुलाई प्रयोग नगरी नेताहरुले पनि भ्रष्टाचार गर्न सक्दैनन् । भ्रष्टाचार गर्ने नेताहरुको रेकर्ड राख्नुस् । भाषणमा एउटा र व्यवहारमा अर्को काम गर्ने नेताहरुले ठुला कुरा गर्दा अरु केही गर्न नसके पनि चिन्या छु भनेर मुसुक्क हाँसिदिनुस् ।’

राज्यबाट जनतालाई दिइने सेवामा कुनै कारणले विलम्ब र आलटान नगर्न निर्देश गर्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख नदिइ सकारात्मक अनुभूति दिएर हाम्रा छोराछोरीलाई देशभित्र बस्न लायक बनाउनु सबैको दायित्व भएको बताए।

उनले नेपाली संस्कारभित्र सेवा र पवित्रताको भाव रहेकाले संविधान र कानुनका व्यवस्थाका साथै इमान, कर्तव्य र नैतिकताको बन्धनलाई ध्यानमा राखेर काम गर्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले जनतालाई सहज रूपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती सेवाका कर्मचारीहरुलाई आग्रह गरे।

प्रकाशित मिति: २२ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्