काठमाडौं महानगरले आजदेखि सुरू गर्‍यो एकल सेवा प्रणाली


 


काठमाडौं २१ भदौ। काठमाडौँ महानगरपालिकाले आजदेखि एकल सेवाकेन्द्र प्रणाली सुरू गरेको छ ।

काठमाडौं प्लाजास्थित कार्यालयको ब्लक ‘क’को भुइँ तलाबाट एकल सेवा सुरु गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारले बताए ।

प्रमुख प्रशासकीय अधिकृत परियारका अनुसार महानगरपालिकाभित्र जुनसुकै सेवा लिन पनि यसकेन्द्रमा आएर टोकन लिनु पर्ने र त्यसैका आधारमा सेवा प्राप्त हुने विद्युतीय प्रक्रिया अगाडि बढ्ने छ।

यो सेवा केन्द्रबाट आज वडा नम्बर ५ बाट विपन्न नागरिक सिफारिस लिन आएका सुरेश प्रजापती र राजस्वका दररेट सम्बन्धी जानकारी लिन आएका ३२ नम्बर वडाका समिर नेपाललाई टोकन प्रदान गरेर सुरु गरेको हो ।

उपप्रमुख सुनिता डंगोलका अनुसार केन्द्रलाई पहुँचयुक्त बनाउन सांकेतिक भाषा अनुवादक राख्नेसहितको योजना रहेको छ ।
महानगरपालिकाले गत साउनमा सेवाग्राही सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणमा सहभागी ५ सय १७ मध्ये ६६ प्रतिशतले अनलाइन सेवाको अपेक्षा व्यक्त गरेपछि यो सेवा सुरु भएको हो ।

‘महानगरपालिकामा आउने कोही पनि सेवाग्राहीले सेवाका लागि कसलाई भेट्ने, कुन तलामा पुग्ने, कागज के चाहिन्छ, प्रक्रियाका लागि कति समय लाग्छ भनेर अल्मलिनु पर्दैन,’ प्रमुख प्रशासकीय अधिकृत परियारले भने। केन्द्रसँगै स्तनपान कक्ष छ । कक्षसँगै प्राथमिक स्वास्थ्य सेवा कक्ष छ । यस कक्षबाट सरकारले उपलब्ध गराएका ९८ प्रकारका निःशुल्क औषधि प्राप्त हुन्छ ।

प्रकाशित मिति: २१ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्