लामाचौर कप राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई


 


पोखरा २१ भदौ । पोखरामा शुक्रबार सम्पन्न भएको लामाचौर कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले उपाधि जितेको छ ।

इन्द्र राज्य लक्ष्मी माविको खेल मैदानमा शुक्रबार भएको फाइनलमा न्यू डायमन्ड एकेडेमीलाई ३–१ सेटमा हराउँदै एपीएफले उपाधिसहित १ लाख ५० पुरस्कार प्राप्त गरेको छ । उपविजेता डायमन्डले भने १ लाख प्राप्त गरेको छ ।

पहिलो र दोस्रो सेट आफ्नो पोल्टामा पारेको एपीएफले तेस्रो सेट भने गुमाएको थियो । पहिलो सेट २५–२३, दोस्रो सेट २५–२३ सेटमा जितेको हो । तेस्रो सेट डायमन्डले २५–१३ मा जिते पनि चौथो सेटमा डायमन्डले २५–१० हार व्यहोर्नु परेको थियो ।

४ टिम सहभागी भएको महिला तर्फको प्रतियोगितामा एभरेष्ट भलिबल क्लब तेस्रो भएको छ । घरेलु टिम गण्डकी टिम अन्तिम भएको हो । फाइनल खेल अवलोकन गर्न दर्शकको उल्लेख सहभागिता रहेको नव आर्दश सामुदायिक विकास समाजका अध्यक्ष स्वागतसिंह भण्डारीले बताउनु भयो ।

पुरुष तर्फको फाइनल खेल प्रकाश नपुगेका कारण स्थगित भएको छ । आज स्थगित भएको खेल भोलि हुने भएको हो । एपिएफ विरुद्ध नेपाल पुलिस क्लबबिच खेल जारी रहँदा प्रकाश नपुगेका कारण फाइनल खेल नै स्थगित भएको राष्ट्रिय रेफ्रि नारायण भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति: २१ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्