तीन लाख ब्रर्तालुले गरे पशुपतिनाथको दर्शन


 


काठमाडौँ २१ भदौ। नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा करिब तीन लाख भक्तजनले दर्शन एवं पूजा आराधना गरेका छन् ।

आज चार बजेसम्म करिब तीन लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो ।

पशुपतिनाथको दर्शनका लागि अझै धेरै बर्तालु लामो लाममा बसेका छन् । बर्तालु लाममा बसेसम्म आज दर्शन गर्न दिइने कोषले जनाएको छ ।

पर्वका अवसरमा आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको थियो । बिहान केही बेर झरीले भक्तजनलाई लाममा बस्न असहज भएको थियो ।

झरी रोकिएपछि धेरै भक्तजन पशुपति क्षेत्र प्रवेश गरी लाम लागेका थिए । तीजका लागि कोषले बाहिरबाट चार वटा लामको व्यवस्था गरेको थियो ।
मूल मन्दिरभित्र प्रवेश गरिसकेपछि एउटा ढोकामा दुईदेखि तीन लामको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

तीजका अवसरमा प्रथम महिला सविता पौडेलले आज पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्नुहुने कार्यक्रम छ । यसैगरी तीजको व्यवस्थापन अवलोकन गर्न कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे पनि पशुपति क्षेत्र जानुहुने जनाइएको छ ।

पर्वका अवसरमा मूल मन्दिरभित्र करिब छ सय महिला प्रहरीमात्र खटाइएको जनाइएको छ । कोषले तीजका अवसरमा आज बर्तालु महिलालाई मात्र प्रवेश गराएको छ ।

धेरैभन्दा धेरै महिला वर्तालुलाई पशुपतिनाथको दर्शन गराउने उद्देश्यले आज विशेष पूजाको रसिद पनि नकाटिएको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २१ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्