सौर्य एयरलाइन्स दुर्घटनाकाे प्रारम्भिक प्रतिवेदन सार्वजनिक


 


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत साउन ९ मा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रारम्भिक प्रतिवेदन अनुसार दुर्घटनाको एक सम्भावित कारणमा अपरेटर (सौर्य एयरलाइन्स) ले अपरेसन र ग्राउन्ड ह्यान्डलिङ म्यानुअल अनुसार जहाजमा सामान राख्नुपर्नेमा त्यसको पालना नगरेको पाइएको छ ।

साथै, जहाजले कार्गोसहित लोड बोकेर उड्दा बाहिरको तापक्रम, विमानस्थलको उचाइ, लोडसहित आधारमा टेकअफका बेला लिने गतिको क्याल्कुलेसन गर्ने गरिन्छ । जसलाई ‘भी–स्पीड’ भनिन्छ । यो उडानका बेला यस्तो क्याल्कुलेसन नगरी जहाजले टेकअफ लिएको देखिएको छ।

यसलाई समेत आयोगले दोस्रो सम्भावित कारण भनेको छ । यस्तो विधि उल्लेख भएको ‘क्विक रिफरेन्स ह्यान्डबुक’ पाइलटसँग हुने गर्छ । जाँच आयोगले प्राधिकरणबाट मर्मतका लागि दिने (फेरी फ्लाइट) अनुमतिमा उल्लेख नियमहरूको पूर्णपालना हुन नसकेको समेत उल्लेख गरेको छ ।

जाँच आयोगको प्रारम्भिक प्रतिवेदनमा वायुसेवा कम्पनीहरूले फेरी फ्लाइटमा गर्ने लापरबाहीतर्फ संकेत गरिएको छ । यसमा नागरिक उड्डयन प्राधिकरणले आँखा चिम्लिरहेको समेत देखिन्छ । अबको जाँच सोहीतर्फ उन्मुख हुने समेत प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

यद्दपि, प्रारम्भिक प्रतिवेदनमा आएका कतिपय विषय पूर्णप्रतिवेदन आइसक्ने समयमा थप सूचनाका आधारमा अर्को निष्कर्षमा पुग्ने सम्भावना समेत हुन्छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियमानुसार ठूला जहाज दुर्घटना जाँच गर्दा प्रारम्भिक निष्कर्ष सार्वजनिक गर्नु पर्ने हुँदा सार्वजनिक गरिएकाे हाे।

प्रकाशित मिति: २१ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्