एमपिएस संञ्चालनका लागि त्रिभुवन विश्वविद्यालय र प्रहरीबीच सम्झौता


 


काठमाडौं । स्नातकोत्तरमा प्रहरी विज्ञान (एमपिएस) कार्यक्रम संञ्चालनका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयबीच समझौता भएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा डिल्लीराज शर्माले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

एमपिएस कार्यक्रम सिनियर प्रहरी अधिकृतहरूको वृत्तिविकास र नेतृत्व विकास कोर्षको रूपमा रहने आईजीपी कुँवरले बताए ।

समाहित विषयहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखा परेका नवीनतम् परिवेश अनुरूप कार्यसम्पादन गर्न सक्ने व्यावसायिक र सक्षम जनशक्तिको विकास हुने उनको भनाई छ ।

रिसर्च, अनुसन्धान, रणनीति र योजना तर्जुमा गर्न सक्ने दक्ष जनशक्ति विकास भई नेपाल प्रहरीको आधुनिकीकरण तथा सांगठनिक सुदृढिकरणका क्षेत्रमा अपेक्षित लक्ष्य प्राप्त हुनेमा विश्वस्त रहेको बताए ।

आईजीपी कुँवरले प्रहरीको नेतृत्व तहमा पुग्ने क्षमता भएका प्रहरी अधिकृतहरूको क्षमता र दक्षतालाई अभिवृद्धि गर्दै हाल प्रहरीमा विद्यमान् बढुवा प्रणालीलाई समेत पारदर्शी र अनुमानयोग्य बनाउन सहयोगी हुने बताए ।

यस समझदारीले नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै दुवै निकायले शान्ति, सुरक्षा एवम् सुशासनको क्षेत्रमा निर्वाहित उत्तरदायित्वको दायरा अझ फराकिलो बनाएको विश्वास आईजीपी कुँवरले बताए ।

सो अवसरमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राडा डिल्लीराज शर्माले समझदारीले प्रहरी अधिकृतहरूको क्षमता विकासमा उल्लेखनीय योगदान पुग्ने बताए ।

साथै उनले आगामी दिनमा समेत थप सहकार्य र समन्वय हुने विश्वास व्यक्त गरे ।

समझदारीपत्रमा अक्षयकोष, एमपिएस कार्यक्रम संचालन, शैक्षिक क्यालेण्डर, विभिन्न शुल्कहरू, विद्यार्थीहरूको विवरण, कोर्षको प्रभाव अध्ययन, शाखा स्थापना एवम् विविध कार्य, निरीक्षण र निर्देशन गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, परीक्षा व्यवस्थापन, परीक्षा केन्द्र, त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सुविधा प्रयोग लगायतका प्रावधानहरू उल्लेख गरिएको छ ।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, त्रिभुवन विश्वविद्यालयका सहायक डीनहरू, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरू लगायत त्रिभुवन विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २१ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्