विद्यार्थीले छात्रवृत्ति पाए नपाएको सरकारले अनुगमन गर्छ : प्रधानमन्त्री


 


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम पठाएको बताएका छन् । उनले सबै स्थानीय तहमा विद्यार्थीहरूले छात्रवृत्ति पाए/नपाएको सरकारले अनुगमन गर्ने समेत जानकारी दिएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘सामुदायिक विद्यालयमा कक्षा ६–१० का विपन्न विद्यार्थीहरूको लागि वार्षिक १८ र विज्ञान विषय अध्ययन गर्नेको लागि वार्षिक २४ हजार रुपैयाँ अनुदान दिएको छ । यसका लागि रु ६० करोड अनुदान दिएको छ ।’

त्यस्तै उनले दुर्गम तथा अन्य क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत २२ वटा सूचीकृत जाति र सीमान्तकृत वर्गका गैरआवासीय विद्यार्थीका लागि प्रतिविद्यार्थी वार्षिक १ हजार देखि ३ हजार ५ सय रुपैयाँसम्म छात्रवृत्तिका लागि रकम प्रदान गरिएको बताएका छन् ।

‘गैरआवासीय छात्रवृत्ति अन्तर्गत देशभरका १५ लाख ५० हजार विद्यार्थीले छात्रवृत्ति पाउने छन् । यसका लागि ५९ करोड रुपैयाँ रकम विनियोजन भएको छ’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘शैक्षिक दृष्टिले पछि परेका समुदाय,अति विकट हिमाली जिल्लाका विद्यार्थी लगायत ७ वटा लक्षित समूहका ११ हजार ४ सय विद्यार्थीको लागि मासिक ५ हजारका दरले आवासीय छात्रवृत्ति प्रदान गरिएको छ ।’

प्रधानमन्त्रीले उल्लेखित छात्रवृत्ति रकम प्रत्येक स्थानीय तहका प्रति विद्यार्थी लागत हिसाब गरेर सशर्त अनुदानमा वित्तीय हस्तान्तरण गरिएको र सो सम्बन्धी कार्यविधि शिक्षा मन्त्रालयको वेबसाइटमा राखिएको समेत जनाएका छन् ।

प्रकाशित मिति: २१ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्