आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना


 


काठमाडौं, भदौ २१। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

हाल देशका अधिकांश ठाउँमा पानी परिरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि देशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

महाशाखाका अनुसार विहीबार राती पाल्पाको जाल्पा, कुमलगाउँ, गन्डाकोट, र आसपासमा भारी वर्षा मापन भएको छ ।

यसैगरी कपिलवस्तु, रुपन्देही, प्युठानमा पनि भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ । कैलालीको टिकापुर, बलिया, बचिला क्षेत्रमा पनि भारी वर्षा भएको छ ।

बागलुङ र सिन्धुपाल्चोकमा भारी वर्षा भएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २१ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्