०८४ मा एमाले बलियो शक्तिका रूपमा स्थापित हुन्छ : महासचिव पोखरेल


 


सुर्खेत । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेलाई बलियो र राष्ट्रिय शक्ति बनाउन लागिरहेको बताएका छन् । लोकतन्त्रलाई सुदृढ गर्न निकै आवश्यक भएको बताउँदै त्यसका लागि बलियो शक्ति आवश्यक भएकाले ०८४ मा एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने उनको भनाइ छ ।

बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पोखरेलले युवाहरूमा निकै निराशावाद पलाएको र ती युवालाई तत्कालै राज्यले रोजगारी दिने अवस्था नरहेको बताए । तर त्यसका लागि सरकारले काम गर्नुपर्ने र निराशालाई चिर्न राज्य तयार हुनुपर्ने बताए ।

उनले एमाले–कांग्रेसको सरकार बनेपछि राजश्व वृद्ध हुन थालेको दाबी गरे ।

साथै उनले नेपालको मौलिक संस्कृतिमाथि अतिक्रमण गर्ने काम भइरहेको बताए । ‘त्यो अतिवादी दृष्टिकोणबाट भइरहेको छ,’उनले भने । साथै उनले प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको बताए । ‘प्रतिपक्ष दलको नेताले श्रीलङ्का र बङ्गलादेशको उदाहरण दिन हुन्थेन,’उनले भने, ‘त्यो लोकतान्त्रिक हुन सक्दैन ।’

काठमाडौँका मेयर बालेन साह र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको टकरावलाई लिएर पोखरेलले बालेनले प्रधानमन्त्रीसँग उक्त विषय जोड्न आवश्यक नभएको बताए । बालेनले लगाएको आरोपबारे सम्बन्धित निकायले पुष्टि गर्ने भएकाले खासै बोल्न आवश्यक नरहेको उनको भनाइ थियो ।

एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहबारे एक महिलाले लगाएको आरोपबारे त्यो कथा बुनिएको बताए । उनले भने, ‘त्यो अनुचित भएको हो, स्वयम् ती महिलाले मलाई भेटेर मैले त्यसो भनेको हैन भनेर भनेको छन्, त्यो कथा बनाउन जरुरी छैन ।’

प्रकाशित मिति: २० भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्