पाकिस्तानी पूर्वराष्ट्रपतिको परिवारका नाममा रहेको भारतस्थित जग्गा लिलाम हुँदै


 


काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री परवेज मुशर्रफको भारतस्थित पुर्ख्यौली जमिन लिलाम हुने भएको छ ।

भारतको उत्तर प्रदेश राज्यको बागपतस्थित कोताना गाउँमा पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफको पैतृक जग्गा छ । मुशर्रफ परिवारको १३ बिघा जमिन लिलाम बिक्री गर्न लागिएको हो, जसका लागि बिहीबार अनलाइनमार्फत बोलकबोल हुँदैछ ।

मुशर्रफको परिवार भारतबाट पाकिस्तान छुट्टिनु अघि बागपतको कोताना गाउँमा बस्दै आएको थियो । देश विभाजन हुँदा बागपतमा रहेको घर र जमिन छाडेर मुशर्रफ परिवार पाकिस्तान गएको थियो ।

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफका पिता मुशर्रफुद्दीन र आमा जरीनको विवाह कोताना गाउँमै भएको थियो । सन् १९४३ मा उनीहरू दिल्ली गएर बस्न थाले । देश विभाजन भएपछि उनीहरू आफ्नो जायजेथा छाडेर पाकिस्तान गएका हुन् ।

पाकिस्तानका पूर्वराष्ट्रपतिको नाममा रहेको केही जमिन उतिबेलै बेचिएको भए पनि उनका परिवारका नाममा अझै १३ बिघा जग्गा बाँकी थियो ।

मुशर्रफका काकाको छोराको नाममा कोतानामा एउटा घर पनि छ । मुशर्रफ परिवारका नाममा रहेको सबै सम्पत्तिलाई भारतले ‘शत्रु सम्पत्ति’ घोषणा गरिसकेको छ । सोही सम्पत्ति अहिले लिलाम हुन लागेको हो ।

प्रकाशित मिति: २० भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्