थाइल्यान्डमा सेना निकट दललाई बाहिरै राखी नयाँ मन्त्रिमण्डल गठन


 


बैकक १९ भदौ । थाइल्यान्डकी नयाँ प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले आफ्नो मन्त्रिमण्डलको घोषणा गर्नुभएको छ ।

उहाँले सन् २०१९ पछि पहिलो पटक सेनासँग सम्बन्धित प्रभावशाली पार्टीलाई सरकारबाट हटाएर आज मन्त्रिमण्डल घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

थाई नरेश महा वजिरालोङकोर्नले फेउ थाइ पार्टीकी प्रधानमन्त्री पेतोङ्तार्नले पेश गरेका मन्त्रिमण्डलका सदस्यहरूको नयाँ टोलीलाई अनुमोदन गर्दै आधिकारिकता दिनुभएको छ ।

अर्बपति पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी ३८ वर्षीया पेतोङतार्नलाई गएको महिना थाइल्यान्डको सबैभन्दा कान्छो प्रधानमन्त्रीमा चयन गरिएको थियो । उहाँले यस पहिलेका धेरै शीर्ष मन्त्रीहरूलाई परिवर्तन गर्नुभएको छैन तर सत्तारूढ गठबन्धनबाट पूर्व सेना प्रमुख र सरकारविरुद्धको ‘कु’ को योजनाकार मानिने प्रवित वोङसुवानको नेतृत्वमा रहेको पलाङ प्रचारथ पार्टी (पीपीआरपी) लाई हटाउनुभएको खबरमा उल्लेख छ ।

नयाँ मन्त्रिपरिषद्ले आफ्नो नीतिगत प्रस्ताव अर्को हप्ताको शुरूमा संसद्मा पेश गर्न सक्ने सरकारका प्रमुख सचेतक विसुत चैनरुनले बताउनुभएको खबरमा उल्लेख छ ।

प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्