काठमाडौँ महानगरपालिकाद्वारा पलेशालाई नगद पाँच लाख, राष्ट्रपति पौडेलले गरे शितल निवासमा सम्मान


 


काठमाडौँ १९ भदौ । काठमाडौँ महानगरपालिकाले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई रु पाँच लाख नगदसहित सम्मान गरेको छ ।

महानगरपालिका कार्यालय काठमाडौँ प्लाजामा आज आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सम्मानपत्र तथा उपप्रमुख सुनिता डङ्गोलले पलेशालाई रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभयो ।

सम्मान कार्यक्रममा महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार केसी, तेक्वान्दो एशोसिएशनका अध्यक्ष प्रकाश शमशेर राणा, ओलम्पियन सङ्गीना वैद्य, पलेशाका मातापिता पनिता र प्रदीप गोवर्धनसहित खेल क्षेत्रका पदाधिकारी तथा खेलाडी सहभागी हुनुहुन्थ्यो ।

पलेशाले गत शुक्रबार फ्रान्सको पेरिसमा भएको पारा ओलम्पिकमा ‘के–४४’ विधा अन्तर्गत महिला ५७ किलो मुनिको तौल समूहमा कास्य पदक प्राप्त गरेकी थिइन् । उनले उक्त प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिकेभलाई १५–८ अङ्कले पराजित गरेकी थिइन् । ओलम्पिकमा नेपाली खेलाडीले प्राप्त गरेको यो नै पहिलो पदक हो ।

यसैबिच राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गर्नुभएको छ ।

शीतल निवासमा आयोजित एक कार्यक्रमका बीच कास्य पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

रामचन्द्र पौडेलले सँगै उहाँका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिनुभयो । सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शीर उँचो पार्ने काम भएको र अर्को पटक स्वर्ण पदक राष्ट्रले अपेक्षा गरेको बताउनुभयो ।

सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

पलेसाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जित्नुभएको थियो ।

प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्